महेश्वरले जिते स्वर्ण


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा भएको १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

महेश्वरले प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा महेश्वरले स्वर्ण पदक जित्न सफल भएका हुन् । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने यो दोस्रो पटक हो ।

महेश्वरले यसअघि सन् २०१६ मा भुटानमा सम्पन्न ५०औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्समा पनि ७५ केजी तौल समूहमा नै स्वर्ण जितेका थिए ।

उनले गत असोजमा नेपाली बडिबिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित प्रतियोगिता धर्मश्रीको १५औँ संस्करणमा ओभरअलमा दोस्रो स्थान हासिल गरेका थिए । त्यसअघि उनी धर्मश्रीको १३औँ संस्करणमा ओभरअल च्याम्पियन बनेका थिए ।