बुटवलमा मुख्यमन्त्री कप ब्याडमिन्टन शुरु



यमलाल भुसाल, बुटवल ।
बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा । प्रथम प्रदेश नं. ५ स्तरीय मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

प्रथम प्रदेश नं. ५ स्तरीय मुख्यमन्त्री कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्दै सबैले सबै क्षेत्रबाट काम गर्न सके खेलाडीहरुको देशका रुपमा पहिचान मिल्ने बताउनु भयो ।

मन मुटाव मेटेर भाईचारा बढाउन खेल सहयोगी सिद्ध हुने तथा स्वस्थ्य र अनुशासित जीवन बाच्ने नारालाई साकार गराउन सकिने उहांले बताउनु भयो ।

कुलतमा फस्नबाट युवाहरुलाई रोक्न समेत खेलको महत्व रहेको उहांले बताउनु भयो । प्रदेश सरकार खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्ने गरि आवश्यक नीति निमार्णमा सहयोग गर्ने उहांले प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा क्लबका अध्यक्ष रमेश बहादुर थापाले एक दशकअघि ब्याडमिन्टन खेलमा अग्रसर रहेका खेलप्रेमीहरुको अगुवाईमा स्थापना भएको क्लबले निरन्तर प्रतियोगिताहरु गरेर खेलाडी उत्पादन भएको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई सबै हिसाबले हब र पाच नम्बर प्रदेशको केन्द्र बनाउने लक्ष्यसहित नीजि क्षेत्रलाई समेत समेटेर योजना बनाईरहेको बताउनु भयो । खेल क्षेत्रको पूर्वाधार विकासमा उपमहानगरपालिकाबाट दीर्घकालिन योजना अघि बढाएको उहांले बताउनु भयो ।

नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य जीवनसिह कुवरले खेलाडीको संख्या बढेपनि खेलपूर्वाधारको समस्या देखिएको भन्दै यसको स्तरवृद्धि जरुरी रहेको बताउनु भयो ।
वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, पाच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द, दंगानियन्त्रण गण प्रदेश नं. ५ का प्रमुख प्रहरी उपरिक्षक दिलिपसिह देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका उपसचिव नारायण पाण्डेले शुभकामना दिनु भएको थियो ।

प्रदेशस्तरको मेन्स सिगल, डबल्स, मेन्स भेट्रान्स र खुल्ला रुपमा मेन्स डबल्स गरि ४ विद्यामा खेलाईने प्रतियोगितामा देशभरिका विभिन्न क्लब र विभागिय गरि १ सय २० टिमका खेलाडीहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको खुल्लातर्फ राष्ट्रियस्तरको आठौ रेकिङ्गमा परेका १६ जना खेलाडीबाहेकले मात्र भाग लिने छन ।

प्रतियोगिताको मेन्स सिगलतर्फ उपाधि विजेताले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितियले नगद २० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतिय दुई टिमले समेत १० हजार प्राप्त गर्नेछन । यसैगरि मेन्स डबल्सतर्फ उपाधि विजेताले नगद ५० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितियले नगद ३० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतिय दुई टिमले समेत २० हजार प्राप्त गर्नेछन । यसैगरि मेन्स भेटान्सतर्फ उपाधि विजेताले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितियले नगद २० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतिय दुई टिमले समेत १० हजार प्राप्त गर्नेछन । मेन्स डबल्स खुल्लातर्फ उपाधि विजेताले नगद ५० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितियले नगद ३० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतिय दुई टिमले समेत २० हजार प्राप्त गर्नेछन ।
क्लबका सचिव शम्भु भट्टराईले यस जिल्लामा विद्यालयस्तरको प्रतियोगिता संचालन गरेर खेलाडी पहिचान र छनौट गरि निशुल्क तालिमहरु समेत दिने काम भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्