भारु नसाटिदा स्थानीयलाई समस्या, साना व्यापारी भन्छन्–व्यापार नै चौपट हुने भयो

0
Shares

विमल विष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानिय समस्यामा परेका हुन् ।

कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले बताउनु भयो ।
‘भारत गएकाहरुले पुरै भारतिय नोट ल्याएका छन् सरकारले नसाट्ने भनेपछि समस्या भएको छ, उहाँले भन्नुभयो ‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।’

यस्तै दिपायलको पिपल्लामा रहेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले आफुकहाँ दैनिक दर्जनौ ग्राहक भारु लिएर आउने गरेको जानकारी दिँदै भन्नुभयो–‘कुनै पनि सामान किन्दा भारु दिन्छन् तर सरकारले भारु चल्दैन भनेको छ, दैनिक ग्राहक फर्काउनु परेको छ, के गर्ने ?

उहाँले थप्नुभयो–‘केही चिनेजानेका ब्यक्तिले भारु साटिए नेपाली नोट दिनू भनेर रकम छोडेर गएका छन् कहाँ गएर साट्ने आफै अलमलमा परेको छु ।’
सुदूरपश्चिमका अधिकांस स्थानिय कामका लागि भारत जाने र उनीहरुले कमाएर भारतिय रुपिया नै ल्याउने गरेकाले यहाँको प्रदेशमा बढीजसो भारतिय रुपियाको कारोवार हुने गरेको दिपायलका अर्का स्थानिय तथा पुर्व नगर प्रमुख घनश्याम पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो प्रदेशका अधिकांस जिल्लामा प्राय भारतिय रुपियाको कारोवार हुन्छ सरकारले त्यहि भारतिय रुपिया नचल्ने भनेपछि समस्या त हुने नै भयो नी ।’

सुदूरपश्चिम प्रदेशका बैतडी, अछाम, बझांङ, बाजुरा, दार्चुला, कैलाली, कञ्चनपुर तथा डोटीका स्थानियबासी प्राय कामका लागि भारत जाने गर्दछन् । यहाँका कतिपय जिल्लामा त नेपाली नोटभन्दा भारतिय नोटको बढी कारोवार हुदै आएको उनीहरु बताउछन् । बजारमा भारतिय रुपिया चल्न छाडेपछि यहाँको ब्यापार ब्यबसायमा पनि निकै कमि आएको दिपायल पिपल्लाका स्थानिय ब्यापारी तुलसी शाहीले गुनासो गर्दै भन्नुभयो ‘अधिकांस ग्राहक भारतिय रुपिया लिएर सामान किन्न आउछन् नचल्ने भएपछि भारुमा सामान दिएका छैनौ, त्यसैले ब्यापार चौपट हुने भयो ।’

डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले भने कानुनी रुपमा नसाट्ने भनिएको भारतिय रकम कहिकतै साट्न नहुने बताउँदै भन्नुभयो–‘कानुनले नसाट्नु भनेको रकम साट्नु वा चलन चल्ति गर्नु भनेको गैरकानुनी हो, बरु भारततिरै साट्दा उपयुक्त होला ।’ यसबारे प्रदेश सरकारको प्रतिक्रिया लिनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको फोनसम्पर्क हुनसकेन ।