मोड्रिचले मेसी र रोनाल्डोको वर्चश्व तोडे


लन्डन, (एजेन्सी)
क्रोएसियाका कप्तान तथा रियल मेड्रिडका मिडफिल्डर लुका मोड्रीचले बालोन डी ओर मा उत्कृष्ट हुँदै लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चश्व तोडेका छन् ।

सोमबार राति फ्रान्सको पेरिसमा भएको एक भब्य कार्यक्रममा मोड्रिचले बालोन डी ओरअन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको उपाधि हात पारेका हुन् । उनले पछिल्लो दश वर्ष रोनाल्डो र मेसीको दबदबा समेत समाप्त पारे । सन् २००७ मा ब्राजिलका काकाले सो उपाधि जितेपछि २००८ देखि २०१७ सम्म मेसी र रोनाल्डोले पालै पालो समान ५–५ पटक उक्त उपाधि जितेका छन् ।
जुलाईमा रुसमा भएको विश्वकपमा क्रोएसियालाई फाइनल पु¥याएका मोड्रिचले सबै प्रतिद्वन्द्वीलाई धेरै पछि पारेका थिए । यसै वर्ष उनी फिफा फुटबल अवार्डस्मा विश्वका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । त्यस्तै विश्वकपमा गोल्डेन बल पनि उनले प्राप्त गरेका थिए ।

मतदानबाट पाएको अंक (शीर्ष ५)
लुका मोड्रिच ७५३
क्रिस्टियानो रोनाल्डो ४७६
एन्टोइन ग्रीजम्यान ४१४
क्लियन एमबाप्पे ३४७
लियोनल मेसी २६०

मतदानको आधारमा भएको सो अवार्डस्मा युभेन्ट्सका रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको मेड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहे । पेरिस सेन्ट जर्मनका युवा स्टार क्लियन एम्बाप्पेले चौथो स्थान हासिल गरे । उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने एम्बाप्पेले हात पारे ।
बार्सिलोना कप्तान लियोनेल मेसी पाँचौ, मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा राफेल भराने र आठौंमा इडेन हाजार्ड रहे । केभिन डि ब्रुएने नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि पर्न सकेनन् । उनी १९ अंक मात्रै जोड्दै १२ औं स्थानमा रहे ।

गत सिजनमा रोनाल्डोले रियल मेड्रिडबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने मेसीले पनि बार्सिलोनालाई ला लिगाको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर गत जुलाइमा सम्पन्न रुस फिफा विश्वकपमा दुवै खेलाडीले फितलो प्रदर्शन गरेका कारण बालोन डीओर को प्रतिस्पर्धामा पछाडी परे ।