बार्सिलोना पुन शीर्ष स्थानमा


लन्डन, (एजेन्सी)
भिया रियललाई २–० ले पराजित गर्दै बार्सिलोना स्पेनीस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा जित निकाल्नु र अर्को खेलमा सेभियाले अलाभेससँग १–१ बराबरी खेल्नाले बार्सिलोनालाई शीर्ष स्थानमा पुग्ने अवसर भएको हो । बार्सिलोनाले ३६औं मिनेटमा जेरार्ड पिकेको गोलमा अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको क्रसमा उनले हेड मार्फत गोल गरेका थिए । यसैगरी खेलको ८७औं मिनेटमा कार्लोस एलेनाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

जितसँगै बार्सिलोनाले १४ खेलमध्ये ८ मा जित, ४ बराबरी र २ हारसहित २८ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको भने १४ खेलमा ८ जित ३ बराबर र ३ हारसँगै २७ अंक रहेको छ । ला लिगा अन्तर्गत आइतबारै भएको अन्य खेलमा रियल बेटिसले रियल सोसिडाडलाई २–१ ले हराउंदा जिरोना र एट्लेटिको मेड्रिड तथा अलाभेस र सेभियाले समान १–१ गोलको बराबरीमा चित्त बुझाए । एट्लेटिको २५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।