फ्रेन्डस् र जावलाखेललाई पहिलो जित


काठमाडौं,(नेस)
जारी ए डिभिजन लिगमा ललितपुरे दुई टोली फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लबले पहिलो जित हात पारेका छन् ।

आइतबार एन्फा मैदानमा भएको खेलमा फ्रेन्डस्ले मछिन्द्र क्लबलाई ३–० ले हराएर जारी लिगमा पहिलो जित हासिल गरेको हो । यस्तै अर्को खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । जावलाखेल र फ्रेन्डस्ले पाँचौ चरणमा आएर जित हासिल गर्दै पूरा अंक जोडेका छन् । दुबैले यसअघि एकआपसमा भिड्दा ३–३ बराबरीमा खेलेका थिए । त्यो भन्दा अगाडिको तीन खेलमा भने दुबै टोलीले पराजय बेहोरेका थिए ।

फ्रेन्डस्को जितमा तीनै गोल दोस्रो हाफमा भएका थिए । विदेशी खेलाडी फोफानाले ६६औं मिनेटमा सानदार गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। उनले करिब २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोल भएको थियो । यस्तै ८३औं मिनेटमा सन्जोग महर्जनले अग्रता दोब्बर पारे भने अनिल महर्जनले इन्जुरी समयको छैटो मिनेटमा थप गोल गरेपछि फ्रेन्डस्लाई प्रतियोगितामा पहिलो सफलता हासिल भयो ।

यसैगरी जावलाखेलले अन्तिममा गोल गर्दै जित संभव पारेको थियो । खेल बराबरीतिर अग्रसर भइरहेको स्थितिमा मनोज राईले पेनाल्टी बक्समा फाउल गर्न पुगे । यसको गल्ती ब्रिगेडले हारले भर्पाई गर्नुप¥यो। मनोजले नीरबहादुर आलेलाई ब्याक ट्याकल गरेर लडाएपछि जावलाखेलले पेनाल्टी हान्ने मौका पाएको थियो । जसलाई अरुज सिंहले सहजै गोल गर्दै टोलीको लागि ३ अंक दिलाए ।

आर्मी विजयी
यस्तै प्रतियोगिताको उपाधि दावेदारीमध्ये एक टोली त्रिभुवन आर्मी क्लबले पनि जितलाई निरन्तरता दिएको छ । विभागिय टोलीले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराएर लगातार चौथो जित हात पा¥यो । योसँगै आर्मी १३ अंकसहित दोस्रो स्थानमा रहेको छ । टोली शीर्ष स्थानको मनाङ भन्दा २ अंकले मात्रै पछाडि छ ।

कप्तान भरत खवासले ३३औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको कर्नरमा हेडमार्फत् गोल गरेका थिए । यसअघि टंक बस्नेतले दिएको क्रसमा विपक्षीका गोलकिपर बिट भइसकेको अवस्थामा पनि भरतले गोल गर्न चुकेका थिए। उनी बलसम्म पुग्न सकेका थिएनन् । तर भरतले नै आर्मीका लागि पहिलो गोल गरे । यस्तै उनले ८६औं मिनेटमा दिनेश हेम्जनको प्रहार रिबाउन्ड भएपछि सोही बललाई गोलको दिशा दिएर आर्मीको अग्रता दोब्बर पारेका थिए ।

यसको लगतै अलरिच सिबेले गोल गरेपनि हिमालयनले आर्मीलाई जितबाट रोक्न सकेन । हिमालयनको ५ खेलमा १० अंक रहेको छ ।