नेपाल किन विकास भएन ?

94
Shares

डा. विद्यानाथ कोइराल

नेपालको विकास नहुनाका अनेकन कारण छन्। सबैका आ–आफ्ना कारण छन्। मेरो दृष्टिमा भने नेपालको विकास नहुनुका कारण यी रहेका छन् ः

क) पुख्र्यौली जरो नजोडिएकाले
आत्मिक विकासले आनन्द खोज्छ। पुख्र्यौली शब्दमा सच्चितानन्द। मानसिक विकासले बहु विधाको चिन्तन खोज्छ। विषयको गहन जानकारी। भौतिक विकासले शरीर सुख खोज्छ। बसाइमा सुविधा। हिँडाइमा सुविधा। गराइमा सुविधा। हाम्रा पुर्खाले आत्मिक विकासले रोजे। त्यो रोजाइले हामीलाई ब्र≈म चिनायो। निवार्ण चिनायो। नूर चिनायो। तागेरा चिनायो। यस अर्थमा हाम्रा पुर्खाले आत्मिक फाँटमा उच्चतम् विकास गरे। बरु पुर्खाले आर्जेको त्यो विकासमा हाम्रो राजनीतिक नेतृत्व लागेन। निर्णायक नेतृत्व। उनका समर्थकलाई पनि लगाएन। नजानेर। नमानेर। नपत्याएर। नितान्त भौतिकवादी सोच बोकेर।

हाम्रा पुर्खाले अनेकन क्षेत्रमा मानसिक विकास पनि गरे। आयुर्वेदले जडीबुटी चिनायो। त्यसको प्रयोग सिकायो। जनस्तरमै संस्थागत गर्यो। आयुर्वेदकै चरक र सुश्रुतले सल्यक्रिया सिकाए। जनस्तरले त्यो सीप जानेन। चिकित्सकले त्यो पद्धतिको खोजी नै गरेनन्। राजनीतिक नेतृत्वले चिकित्सकलाई त्यता जाने परिवेश नै दिएन। पश्चिमी दीक्षा लिएका चिकित्सक उतैको ज्ञानमा रमाए। यस्ता अनेकन विधा छन्। पुर्खाले दिएका ज्ञानका विधा। विज्ञानका विधा। हामीले तिनको खोजी नै गरेनौं। उदाहरण लिउँ ब्र≈माण्डको। चक्रको। यी शब्दहरू सूत्र हुन्। प्रत्येक ब्र≈म अण्डाकार हुन्छ भन्ने सूत्र। चक्रीय हुन्छ भन्ने सूत्र। चक्र घुम्छ भन्ने सूत्र। यी र यस्ता सूत्रहरू बुझ्ने बुझाउने काम हामीले गरेनौंै। गराइएनौं। कारण थियो नेतृत्वको अल्पज्ञान। तिनले अरूकै पुर्खा पढे। पढाए। आफ्ना पुुर्खाको बेवास्ता गरे। गर्न सिकाए।

चार्वाक जनबोली हो। भौतिक विकासको चिन्तन। मोजमस्ती यसको आदर्श हो। पुख्र्यौली शब्दमा माया। अद्वैत वेदान्तीको शब्दमा झुटो जगत्को मोह। विज्ञानी बोलीमा प्रकृतिको अत्यधिक दोहनबाट थोरैले लिने मज्जा। धेरैले पाउने पीडा। ओजोन परत नासिएर। कार्वन मोनोक्साइड बढेर। हिमाल पग्लेर। समुद्र उठेर। भौतिक विकासको यो पाटोलाई हामीले खोजेनौं। खोजाएनौं। अर्थात् भौतिकवादी नेतृत्व हुँदा पनि यी कुराहरू ओझेलमै रहे। परिणामतः केहीले मोजमस्ती रोजे। केहीले झुटो जगत् मोह। केहीले विपन्नतामै जिउन बाध्य भए। यो कुरा राजनीतिक नेतृत्वले चिन्न सकेन। चाहेन।

ख) बाहिरी लिउन नटाँसिएकाले
क्रमबद्ध विकासकोे रहरले ६ दशक नाध्यो। हाम्रा विकास आयोजनामा विदेशीको सोच समेटियो। प्रत्यक्षरूपमा। अप्रत्यक्ष्यरूपमा। कम्प्राइडोर बुर्जुवाको बलमा। देखासिकीमा। ती सबै विकासमा भौतिकवादी रहर थियो। ती सबै रहरहरू भूसका लिउन बने। अर्थात् लिउन लगाउनेकै हातमा विकास पुग्यो। विकासे शब्दमा भुइँफुट्टाको विकास भयो। कोरिडरको विकास भयो। जनताको शब्दमा पहुँचवालाको विकास भयो। त्यसको अर्थ हो जनविकास भएन। पुगेन। परिणामतः विकास खोज्नेहरू शहर पसे। गाउँ क्रमशः बाँझिने क्रममा पुगे। सरकारका शहर बसाउने रहरले आगोमा घ्यू थप्यो। अन्ततोगत्वा भुइँफुट्टे र कोरिडर विकासमै हामी पुग्ने भयौं। विदेशी सोच पनि त्यही हो कि ?

ग) राजनीतिज्ञले विरोध मात्र सिके÷सिकाएकाले
राणा विरोध। नेपाली कांग्रेसले त्यही सिकायो। कांग्रेस विरोध। कम्युनिस्टले त्यही सिकायो। कम्युनिस्ट विरोध। कांग्रेसले त्यही सिकायो। राजा विरोध कांग्रेस तथा कम्युनिस्टले त्यही सिकाए। कुनै दलले पनि रचनात्मक विरोध सिकाएनन्। जापानीले जस्तो। विरोध गर्दा एउटा मात्र जुत्ता तयार पार्ने। रिस शान्त भएपछि अर्को जुत्ता बनाइदिने। एकजोर जुत्ता तयार। परिणामतः हाम्रा दलहरूले विरोधी दस्ता तयार पारे। अहिलेका युवा, अधवैशे तथा पाका पुस्ता तिनै हुन्। विरोध गर्न जान्ने। विकल्प दिन नजान्ने। शास्त्रीय माक्र्सवादी जस्ता। पहिला पुस्ताका महिलावादी जस्ता। विकल्पविहीन।

घ) दलीय आडका ढिक्किने संघ–संगठन बनाएकाले
कलीमा संगठनमै बल हुन्छ। देवी भागवत्ले त्यही ठम्यायो। संगठनमै बल हुन्छ राजनीतिज्ञले त्यही बुझे। दलीयता मात्रै राजनीति हो भन्ने बुझे÷बुझाइएका राजनीतिज्ञहरूले पनि त्यही कुराको अनुशरण गरे। राजनीतिज्ञहरूको यो दुर्बुद्धिले गर्दा हाम्रो असली पहिचान गुम्यो। असली शिक्षक हुने पहिचान। असली विद्यार्थी हुने पहिचान। असली प्राध्यापक हुने पहिचान। असली कर्मचारी हुने पहिचान। असली नेतृत्व हुने पहिचान। यो पहिचानहीनताले सबैलाई सीमाविहीन बनायो। त्यसैले अहिले सबै राजनीतिज्ञ बने। राजनीतिक विश्लेषक बने। असली पेसाकर्मी अपवाद बन्न पुगे। यो अपवादले दलहरू झाँगिए। पेसाकर्मी मुर्झाए। दलको छाता र आशिर्वाद पाउनेहरू मालामाल बने। धनमा। पदमा। समाजमा। नपाउनेहरू कुण्ठामा बसे। दाम सरकारको खाने काम राजनीतिक दलको गर्ने।

ङ) अधिकारकर्मीको एकोहोरो प्रलापले
पुर्खाले सत्पात्र खोज्ने चिन्तन दिएका थिए। मन्त्रदान गर्नका लागि सत्पात्र। औषधि सिकाउन सत्पात्र। सपना सुनाउन सत्पात्र। भष्मासुर गलत पात्रका उदाहरण हुन्। तर, हाम्रा अधिकारकर्मीले सबैलाई एउटै अधिकारी बनाए। कर्तव्यपालकलाई पनि त्यही अधिकार। नमकहरामलाई पनि त्यही अधिकार। अधिकारकर्मीले ध्यान विचार नै नगरी अधिकार दिएकालाई राजनीतिक दलहरूले पनि आशिर्वादै दिए। अहिले तिनै भष्मासुरहरूले सरकारलाई लखेटिरहेछन्। सरकार आफ्नै छायाँ र आशिर्वादको बन्दी बनेको छ। महादेवको भगाइमा। विष्णुको खोजीमा।

च) विकासको हथ्यौडी नजानेका योजनाविद् र कार्यान्वयनकर्ताले
विकासले सन्तुलन खोज्छ। असन्तुलित विकास भनेको विनाश हो। पुलमात्रै बनाउनु असन्तुलित विकास हो। पुलको छेउमा पार्क, अलि माथि होटेल, अलिपर भ्युटावर, छेउमा कुलो विकासको सन्तुलित नमुना हो। हाम्रा एकपाखेविद्हरूले यो कुरा जानेनन्। कार्यान्वयन तहमा हुनेहरूले पनि यो चाहिन्छ भनेनन्। परिणामतः हामीले असन्तुलित विकास मात्रै पायौं। भोग्यौं। अर्थात् प्रकृतिको दोहन त भयो। श्रृङ्गार भएन।

छ) जन गराईमा नमिलेका विकासे र राजनीतिज्ञले
गुजारामुखी खेती जन गराई हो। विकासे र राजनीतिज्ञले बजारमुखी जीविकाको वकालत गरे। जनताको निम्ति अप्ठेरो भयो। जोखिम बढी। ऋणको सम्भावना। जनता जोखिम लिँदैनन्। ऋणको भार बोक्तैनन्। बाध्यतामा काम गर्नु अर्को कुरा हो। गुजारामुखी जन गराईमै पनि सघाउने बुद्धि विकासेलाई छैन। राजनीतिज्ञलाई छैन। ती रोमान्सवादीले जनता बुझेनन्। जनताले उनीहरूका कुरामा आफ्नो अस्तित्व देखेनन्। परिणामत विकासले गुजारामुखी गरिबलाई छोएन। छुने छाँट पनि देखिएन।

गर्ने के ?
पुख्र्यौली जरो जोड्न समाज पढौं। शास्त्र पढौं। संस्कार पढौं। विदेशीको गुलामी र दलाली दुवै बन्द गरौं। तिनको सोच सुनौं। स्रोत लिऔं। विरोध गर्दा प्रत्याभूति गर्ने संस्कार जोडौं। दलीयता भत्काउन समालोचकीय सोच र गराई संस्थागत गरौं। अधिकार खोज्दा मैले के गरें र के गरिनँ भन्ने विश्लेषण गर्नैपर्ने बानी बसाऔं। विकास योजना र कार्यक्रममा जनज्ञान जोडौं। सम्भावनामा खेल्ने तथा खेलाउने नेतृत्व भए सन्तुलित विकास सहज छ। कतै विकासको मूल फुटाउनेदेखि सम्मृद्धि र सुखी नेपाली बनाउने स्वप्नद्रष्टाहरूमा चेत आउँछ कि ?