धुलिखेललाई ‘खरायोको मासुका लागि हब’ बनाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
द हिमालयन ¥याबिट फार्म र धुलिखेल होटल संघले घुलिखेललाई खरायोको मासुको हबका रुपमा विकास गर्ने बताएक छन् । हिमालयन ¥याबिट फार्मले क्षेत्रीय होटल व्यवसायी संघ धुलिखेलसँगको सहकार्यमा अन्य सरकारी निकायसँग समन्वय गरी धुलिखेललाई खरायोको मासुका लागि हब बनाउने रणनीति तय गरेको जनाएको छ ।

त्यस क्षेत्रमा सञ्चालित होटलमा कार्यरत सेफलाई खरायोको मासुको परिकार ती होटलको मेनुमा समावेश गर्न र परिकार बनाउने क्षमता विकास गर्न धुलिखेलका १० वटा होटलका सेफलाई समेत प्रशिक्षित गरिएको छ । द हिमालयन ¥याविट फार्मका सञ्चालक उज्ज्वल चापागाईंले धुलिखेलमा रहेका होटलहरुमा खरायोको मासु उपलब्ध गराइने भएकाले सेफहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रशिक्षणमा विशेष गरी खरायोको स्वस्थ मासुको फाइदाका बारेमा जानकारी गराइएको थियो । खरायोको मासुको परिकार कसरी बनाउने भन्ने बारेमा वरिष्ठ पाकशास्त्री सन्दीप खत्रीले प्रशिक्षण दिनुभएको थियो ।

वरिष्ठ पाकशास्त्री खत्रीले अरु मासुभन्दा खरायोको मासु अन्य मासुको तुलनामा पकाउन सहिजलो र स्वास्थ्यका दृष्टिकोणले अत्यधिक फाइदाजनक रहेको बताउनुभयो । प्राकृतिक तवरले उत्पादन हुने हुँदा अन्य मासुको तुलनामा सुरक्षित र स्वस्थकर मानिने उहाँको भनाइ छ ।

खरायोको मासु अरु मासु पकाएको जस्तो झन्झटिलोसमेत नभएकाले ग्राहकलाई छिटो सेवा दिन सकिने बताइन्छ ।

नेपालमा मासुका लागि विशेष गरी सोवियत चिन्चिल्ला, न्युजील्यान्ड ह्वाइट र क्यालिफोर्निया जातका खरायो पालिने गरिएको छ । खरायोको मासुमा अत्यधिक प्रोटिन पाउने र धेरै कम मात्रामा चिल्लो पदार्थ हुने भएकाले मुटुरोग, डायबिटिज, दम भएका व्यक्ति, गर्भवती र सुत्केरी महिला, ग्यास्ट्रिक, बृद्धदेखि सम्पँर्ण उमेर समँहका व्यक्तिलाई लाभदायक मानिने धुलिखेल अस्पतालका चिकित्सक डा. सुजन माकजु श्रेष्ठले बताउनुभयो ।

मानव स्वास्थ्यका लागि लाभदायक र स्थानीय कृषकको जीवनस्तरमा परिवर्तन गर्न सहयोगी हुने खरायो पालन व्यवसायलाई विस्तार गर्न धुलिखेलका होटलले खरायोको मासु विशेष परिकारकारुपमा राख्नुपर्ने हिमालयन होराइजन होटलका संस्थापक बेलप्रसाद श्रेष्ठले बताउनुभयो ।
खरायोले विशेष गरी दुबो, किम्बू, भटमास, जौं, सखरखण्ड, गहँु, सिमी तथा डाले घाँस खाने भएकाले यसको मासु हाइजेनिक र मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

खरायो पालन व्यवसायलाई आधुनिक तरिका प्रयोग गर्न सके एउटै माउ खरायोबाट वार्षिक २० देखि २५ हजार रुपियाँसम्म आम्दानी गर्न सकिन्छ । खरायोहरु बयस्क हुँदा २ दशमलव ५ देखि ४ किलोसम्मका हुन्छन् । व्यावसायिकरुपमा पाल्दा प्रत्येक दुई–दुई महिनामा बच्चा जन्मन्छन् । एकपटकमा १२ वटासम्म बच्चा एउटा माउले जन्माउँछ । खरायो जन्मेको चार महिनामा मासुको लागि उपयुक्त मानिन्छ । खरायोको मासु भने प्रतिकिलो ९०० रुपियाँसम्ममा बिक्री भइरहेको छ ।