थ्रीस्टारद्वारा एनआरटी पराजित


नेपाल समाचारपत्र, काठमाडौं
थ्रीस्टार क्लबले जारी ए डिभिजन लिगअन्तर्गत सोमबारकोे खेलमा न्युरोड टिम (एनआरटी) लाई २–० गोलअन्तरले हराएको छ । थ्रीस्टारले अघिल्ला खेलमा मनाङ मस्र्याङदी क्लबसँग हारेको थ्रीस्टारले फेरि जित हात पा¥यो । टोलीका जितमा रन्जित धिमाल र अजायी मार्टिन्सले गोल गरेका हुन् । यो जितसँगै ललितपुरे टोलीले ४ खेलबाट ९ अंक जोडेको छ ।

एनआरटीले संतुलित खेल प्रदर्शन गरेको थियो । तर ७५औं मिनेटमा गोल बेहोरेपछि एनआरटीका लागि हार निकट भएको थियो । अघिल्ला दुई खेलमा हार बेहोरिसकेको एनआरटीका लागि यो खेल जित्नै पर्ने थियो । तर अन्तिम १५ मिनेट सदुपयोग गरेर थ्रीस्टारले खेलको नतिजा आफ्नो बनायो भने एनआरटी अझै जितविहीनमै रहनु परेको छ ।

थ्रीस्टारले पेनाल्टी गोलमार्फत् खेलमा अग्रता लिएको थियो । मार्टिन्सलाई डिबक्समा लडाएपछि थ्रीस्टारले पेनाल्टी प्राप्त गरेको थियो । एनआरटीका गोलकिपर अजीत प्रजापतिले पेनाल्टी बचाए पनि बल रिबाउन्ड हुँदा रन्जीतले गोल गरेका थिए । अन्तिममा सुनील बलले दिएको पासमा मार्टिन्सले हेडमार्फत् गोल थपे ।

यसैगरी हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले च्यासल युवा क्लबलाई २–० कै गोलअन्तरले पराजित ग¥यो । पुलिसका लागि पहिलो हाफमा रवि पासवान र दोस्रो हाफमा भरत शाहले गोल गरेका थिए । रविले ३८औं मिनेटमा च्यासलका विश्व अधिकारीले ब्याकपास दिँदा बल खोसेर गोल गर्दै टोलीलाई १–० को अग्रतामा राखे । यस्तै भरतले गोल गर्दा पनि च्यासलकै खेलाडीको गल्ती थियो ।

आर्मीको ठूलो जित
जारी ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले ठूलो जित निकालेको छ । चौथो चरणको खेलमा आर्मीले संकटा क्लबलाई ५–१ गोलअन्तरले हराएको हो । टोलीको जितमा टेकबहादुर बुढाथोकीले २ गोल गरे भने भरत खवास, सन्तोष तामाङ र दिनेश हेम्जनले १–१ गोल गरेका हुन् ।

आर्मीको जितले लगातार तीन खेलमा जित्दै लिगमा सानदार शुरुवात गरेको संकटालाई पहिलो हार पनि चखायो । योसँगै संकटाको जितको यात्रामा पूर्णविराम पनि लागेको छ । लगातार तीन जित निकालेर सतप्रतिशत नतिजा आत्मसात गर्नेमा मनाङ एक्लो टोली बचेको छ ।

आर्मीले नवौं मिनेटमा गोल बेहोरेर खेलमा पछि परेको थियो । एन्फा मैदानमा भएको उक्त खेलमा ९ नम्बरकै जर्सीका एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर १७औं मिनेटमा टेकले गोलकिपर अगाडि बढेको अवस्थामा बराबरी गोल गर्दै संकटाको संकट बढाएका थिए । यो जारी लिगको ५०औं गोल पनि थियो ।

यसैगरी आर्मीका कप्तान भरतले २९औं मिनेटमा गोल गरेर खेल २–१ मा पु¥याए । दोस्रो हाफमा पनि संकटाका खेलाडी सम्हालिन पाएन । ६३औं मिनेटमा सन्तोषले फ्रिकिकमार्फत् गोल गर्दै आर्मीलाई ३–१ को सुरक्षित अवस्थामा राखेका थिए । ६५औं मिनेटमा टेकले अर्को गोल थपे भने त्यसको १० मिनेटमा दिनेशले आर्मीको पाँचौ गोल गरेका थिए ।

अंकतालिकामा आर्मी शीर्षमा
आर्मीको सानदार जितसँगै अंकतालिकामा शीर्ष स्थानमा बढुवा भएको छ । पहिलो खेलमा एनआरटीसँग हारबाट जोगेर बराबरी खेलेको आर्मीले लगातार तीन खेलमा जित निकालिसकेको छ । योसँगै टोली १० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै थ्रीस्टार ९ अंकसहित दोस्रो स्थानमा छ भने संकटा हारको बावजुद ९ अंकमै तेस्रो स्थानमा रहेको छ । पुलिसको ७ अंक छ भने च्यासलको ४ र एनआरटीको १ अंक साथमा छ ।