नेत्रहिन खेलाडीप्रति सरकार गम्भीर भएन


सरोज यादव, विराटनगर
नेत्रहिन क्रिकेट खेलाडीहरुले राज्यले आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन । उनीहरुले आफूहरुले क्रिकेटमा उदाहरणीय खेल प्रस्तुत गरेपनि राज्यले प्रोत्साहन नगरेको बताएका छन । सवलाङ्ग खेलाडीहरु विदेश जाँदा वा प्रतियोगिताबाट फर्किदा स्वागत गर्न मन्त्री पुग्ने गरेको तर, आफूहरु गएको बारे जानकारीसमेत राख्ने नगरेको नेत्रहिन खेलाडी दुर्गा भण्डारीले गुनासो गरे ।

भण्डारीले भने— हामीले खेलिरहेका छौ, अन्य राष्ट्रभन्दा गतिलो प्रस्तुति दिदै जित पनि हासिल गरिरहेका छौ । तर सरकार बेखबर छ, हामी पनि क्रिकेट खेल्छौ र भन्ने सायद राज्यलाई थाह भएको जस्तो हामीले महसुस गर्न पाएका छैनौ ।

नेत्रहिन क्रिकेट संघ नेपालको आयोजनामा भर्खरै मात्र विराटनगरमा सम्पन्न प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लबबाट ६० जना नेत्रहिन खेलाडी भेला भएका थिए । प्रतियोगिता हेरेपछि क्रिकेट प्रशिक्षक प्रदीप पाण्डेले राज्यले केही सहयोग गरे नेत्रहिन क्रिकेट टिम विश्वकप जित्न सक्ने अवस्थामा रहेको बताए ।

नेपालमा २०६३ सालमा नेत्रहित क्रिकेट संघको स्थापना भएको हो । क्रिकेट संघका संस्थापक अध्यक्ष पवन घिमिरेको पहलमा गठन भएको संघले नेपालको तर्फबाट विश्वकप खेलिसकेको छ भने महिला क्रिकेट टिमको गठन विश्वमै पहिलो पटक भएको छ । क्रिकेट टिममा आवद्ध भएपछि खेलाडीले नयाँ जीवन पाएको नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेको भनाइ छ ।

नेपालले सवलाङ्ग क्रिकेट विश्वकपको प्रतियोगिताबाट उपाधि ल्याउँने विषय अहिले कल्पनामा मात्रै छ । किनकि विश्वकप छनौटबाटै नेपाल आउट हुने गरेको छ । तर, नेत्रहिन क्रिकेट टोलीले विश्वकप खेलिसकेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको नेत्रहिन क्रिकेटकी रेफ्री नगेन्द्र निरौलाले बताइन ।

सरकारले सहयोग नगर्दा पनि आफूहरुले क्रिकेटका महारथीहरुलाई हराएको सम्झँदा उनीहरु गर्व लागेको बताउँछन् । नेपालमा नेत्रहिनहरुको क्रिकेट टीमले अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका जस्ता क्रिकेटका महारथी राष्ट्रलाई हराई सकेका छन् ।