नेपाल, भारत र श्रीलंकाबीच टि–२० सिरिज हुने


काठमाडौं, (नेस)
आगामी माघ १ गतेदेखि नेपाल भारत र श्रीलंकाबीच प्राईम टाईम्स टी २० ट्रयांगुलर क्रिकेट सिरिज आयोजना हुने भएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजक महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र ती त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी गरायो । सोसाईटीका अध्यक्ष समुन भट्टले नेपाली क्रिकेटको सम्बन्धित संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परिरहेको अवस्थामा पनि क्रिकेटरहरुले देशप्रति पुर्याएको अतुलनीय योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।

उनले भने,‘क्यान निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतको भन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागेका छौ ।

माघ १० गतेसम्म संचालन हुने सो सिरिजका लागि नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्ने छन् । त्यस्तै दिनेश कुमारको कप्तानीमा भारतीय टोली र श्रीलंकाको तर्फबाट सानुख धनन्जयको कप्तानी रहनेछन् । श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् ।

करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा अर्को प्रायोजक प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था क्यानको अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनकाबीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजलाई नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट पनि प्रायोजन गरेको छ ।