भुमिराज र कान्छीमाया पहिला


नेपालगञ्ज, (नेस)
क्रियटिभ ह्याण्डसको आयोजनामा चौथो नेपालगञ्ज म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राई र शसस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेका छन् ।
तत्कालिन विद्रोही माओवादी र राज्य पक्षका बीचमा भएको बृहत शान्ति सम्झौता भएको मंसीर ५ गतेको सम्झनामा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसपाली भने सबै पक्षको विशेष आग्रहमा मंसीर ८ गते भएको हो ।

पुरुषतर्फ राईले निर्धारित दुरी (४२ किलोमिटर) २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरीका खिमबहादुर खत्री २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । त्यस्तै सशस्त्रकै गणेश ठकुरीले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान हासिल गरेका थिए । शीर्ष तीनले क्रमशः ६०, ३० र २० हजार नगद पुरस्कार जितेका थिए ।

महिलातर्फको हाफ म्याराथन (२१ किलोमिटर) मा कोजुले एक घण्टा २२ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै पहिला भइन् । उनी दोस्रो संस्करणकी विजेता समेत थिइन् । दोस्रो र तेस्रो स्थानमा पनि सशस्त्रकै धाविकाले वर्चश्व बनाए । बृन्दा धान्के श्रेष्ठले एक घण्टा २५ मिनेट ४४ सेकेन्ड र कृष्णाश्वरी सिन्तकलाले एक घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए । शीर्ष तीनले क्रमशः ३०, १५ र १० हजार नगद पुरस्कार पाएका थिए ।

नेपालगञ्ज म्याराथनलाई अझ भब्य बनाउन एक किलोमिटर वाकाथन गराइएको थियो । त्यसमा प्रदीप पण्डित प्रथम भएका छन् । नेपालगञ्ज म्याराथनका अवसरमा आयोजक क्रियटिभ ह्याण्डसले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।