मनाङले थ्रीस्टारलाई हरायो


काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सबैभन्दा प्रतिक्षारत खेलमा मनाङ मस्र्याङदी क्लबले जित हात पारेको छ ।

बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन मनाङले चीर परिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई २–१ ले पन्छायो । यो महत्वपूर्ण जितपछि मनाङ ९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । मनाङको जित थ्रीस्टारबाट पाएको आत्मघाती गोलले संभव भएको थियो ।

मनाङले ११औं मिनेटमै अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । हेमन गुरुङको पासमा अन्जनले गोल गरेका थिए । १८औं मिनेटमा गोलकिपर एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमालसँग ठोक्किँदै गोल हुँदा मनाङले आत्मघाती गोलको उपहार पाएको थियो । त्यसो त सो बललाई विक्रम लामाले गोललाइनबाट क्लियर गर्न खोजेपनि बलले थ्रीस्टारको जाली चुमिसकेको थियो ।

पहिलो हाफमा २–० को अग्रतासँगै मनाङ जिततिर अग्रसर भएको थियो । यद्दपि थ्रीस्टारले ८५औं मिनेटमा गोल गरेर मनाङको अग्रतालाई खुम्च्याए । रन्जित धिमालले पेनाल्टीमा गोल गरेका थिए । तर त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । यसपछि गोल नहुँदा मनाङले लगातार तीन खेलमा जित हासिल ग¥यो भने थ्रीस्टारले पहिलो हार बेहोरेको छ । ललितपुरे टोली ३ खेलबाट ६ अंकमै रहेको छ ।

यसैगरी यसअघि भएको खेलमा अर्को ललितपुरे टोली च्यासल युवा क्लबले सानदार जित हासिल गरेको थियो । च्यासलले न्युरोड टिम (एनआरटी) लाई ५–१ गोलअन्तरले हरायो । टोलीको जितमा विमल घर्तीमगर र अमीर श्रेष्ठले २–२ गोल गरेका थिए । एक गोल सन्तोष साहुखलले थपेका थिए । यो च्यासलको ३ खेलमा पहिलो जित थियो भने तीनै खेल खेलेको एनआरटी अझै जितविहीन बनेको छ ।