ललितपुर प्याट्रिओट्समा ३ भारतीय खेलाडी


काठमाडौं, (नेस)
यसै महिना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का सहभागि टोली ललितपुर प्याट्रिओट्सले ३ विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।
ललितपुर प्याट्रिओट्सले विकेटकिपर ब्याटसम्यान जयकिशन कोल्सावाला र लेग ब्रेक बलर सनी पटेललाई यस पटक पनि अनुबन्ध गरेको हो । २९ वर्षीय भारतीय क्रिकेटर जयकिशनले बरोडाबाट घरेलु क्रिकेट खेलेका छन् । त्यस्तै उनले चार लीस्ट ए र दुई टी २० खेल खेलेका छन् । यसैगरी अर्का भारतीय खेलाडी ३१ वर्षीय सनीले लीस्ट ए मा ७ खेल खेलेका छन् ।


मंसीर २२ गतेदेखि पुस ७ गते सम्म चल्ने ईपीएलका लागि ललितपुर प्याट्रिओट्ससँग अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी गौरव तोमार हुन् । २७ वर्षीय भारतीय खेलाडी गाजियाबादबाट खेल्छन् । दायाँ हाते अफ ब्रेक बलर गौरवले टी २० डेब्यु राजस्थानविरुद्ध सन् २०१३ मा गरेका थिए । ईपीएलमा प्रत्येक टोलीमा १५ खेलाडी हुनेमा ३ विदेशी खेलाडी राख्ने प्रावधान रहेको छ ।


ललितपुर प्याट्रिओट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडीमै यथावत राखेको छ । त्यस्तै टोलीका लागि प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् । बस्न्यातले विदेशी खेलाडी आएपछि टोली संतुलित हुने बताएका छन् । उनले बताए—यो टोली गत वर्षको प्रतियोगितामा भन्दा बलियो भएको छ ।