चिरञ्जीवी मास्के
यो फिल्मी समीक्षा हैन। फिल्मले प्रस्तुत गरेको सत्यताको सविस्तार मात्र हो। फिल्म छक्का पन्जा–३ भित्रको सत्यताको स–विस्तार।
राजनीति सम्पूर्ण नीतिहरूको मूल नीति हो। राजनीति राज्य सञ्चालनको मियो हो। त्यसैले राजनीतिले निर्देशित गरेको मूल नीतिले मुलुकको हरेक क्षेत्र सञ्चालन हुनुपर्छ। अर्थात् राजनीतिक प्रतिस्प्रर्धाको आधारमा निर्वाचित संसद्ले बनाएको नीतिको आधारमा मुलुकको हरेक क्षेत्र सञ्चालन हुनुपर्छ। तर, नेपालमा राजनीतिले निर्देशित गरेको नीतिले हैन राजनीति स्वयंले मुलुकको हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ। जसका कारण न नीतिले काम गर्ने वातावरण छ न राजनीतिले काम गर्न सक्छ।
मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सबैभन्दा पहिले मुलुकका हरेक नागरिक शिक्षित हुनुपर्छ। जसका लागि शिक्षा क्षेत्रमा राजनीतिले हैन नीतिले काम गर्नुपर्छ। तर, बिडम्वना नेपालको शिक्षा क्षेत्रमा नै सबैभन्दा बढी राजनीति हुने गरेको छ।
छक्का पन्जा–३ ले मूलतः तीनवटै सन्देश दिएको छ। पहिलो सामुदायिक विद्यालयको नेतृत्व सक्षम र कडा हुनुपर्छ, दोस्रो विद्यालय सञ्चालनका लागि नीति स्पष्ट हुनुपर्छ र तेस्रो विद्यालयमा कुनै पनि बहानामा राजनीति घुस्नु हुँदैन।
अनि राजनीतिले निर्देशित शिक्षा प्राप्त गरेका जनशक्तिबाट मुलुकको विकास र समृद्धिको सपना साकार हुन्छ भनेर सोच्नु राजनीतिको अवमूल्यन गर्नुमात्र हुन्छ। किन भने जहाँ राजनीति हुन्छ त्यहाँ राजनीतिबाहेक अरू केही हुँदैहँुदैन। राजनीतिले कतिसम्म विकृति निम्ताउँछ भने राजनीति स्वयंले बनाएको नीति कार्यान्वयन गर्न पूर्णतः अवरोध गर्छ। राजनीतिले काम नगर्ने र नीतिलाई कार्यान्वयन गर्न नदिने भएपछि मुलुकको शैक्षिक सुधार हुने कुरै भएन।
दीपकराज गिरीको निर्माण र दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पन्जा–३ शिक्षामा घुसेको राजनीतिको सजिव चित्रण हो। त्यसैले छक्का पन्जा–३ फिल्म मात्र हैन शिक्षामा राजनीतिले पारेको कालो छायाँको यथार्थ पाटो हो।
शिक्षक पेसा सबैभन्दा मर्यादित र आदर्णीय पेसा हो। एउटा असल शिक्षकले हजारौं राष्ट्र निर्माताहरू तयार गर्छन्। तर, यही शिक्षक पेसालाई राजनीति गर्ने माध्यम बनाइँदा मुलुकको असल र इमानदार जनशक्ति क्रमशः स्खलित हुँदै गएको छ। त्यसो त नेपालमा शिक्षक पेसाको मर्यादा सरकारले पनि गर्न सकेको छैन।
विश्वका अधिकांश देशमा शिक्षकलाई आर्थिक, सामाजिक हरेक हिसाबले अब्बल दर्जामा राखेर व्यवहार गरिन्छ। शिक्षकलाई उचित सम्मान मात्र हैन उचित पारिश्रमिक पनि दिइन्छ र शिक्षक बन्न सबैभन्दा कठिन छ। तर, नेपालमा त्यसको ठीकविपरीत शिक्षकलाई सबैभन्दा कम पारिश्रमिक दिने गरिएको छ, सम्मान पनि छैन र अन्यत्र कतै काम नभएपछि शिक्षक बन्ने प्रचलनसमेत रहेको छ। सायद यही प्रचलनकै कारण होला शिक्षा क्षेत्रमा राजनीतिले सहजै प्रवेश पाएको।
यदि शिक्षा क्षेत्रलाई अन्य मुलुकमा जस्तै आर्थिकरूपमा पूर्ण र मर्यादित बनाउन सकिएको भए न शिक्षकलाई राजनीतिसँग सरोकार हुने थियो न राजनीतिले शिक्षामा सहज पहुँच नै पाउन सक्ने अवस्था बन्थ्यो। तर, यसो भनेर न सरकार पन्छन मिल्छ, न शिक्षक पन्छन मिल्छ, न अभिभावक नै पन्छन मिल्छ। सबैले आ–आफ्नो दायित्वबोध गर्दै जिम्मेवारी पूरा गर्नैपर्छ।
छक्का पन्जा–३ ले अब मुलुकलाई विकास र सृमद्धिको मार्गमा अगाडि बढाउने हो भने सबैभन्दा पहिले शिक्षा क्षेत्रको सुधार आवश्यक छ भन्ने शिक्षा दिएको छ। शिक्षामा घुसेको राजनीतिलाई सफा गरेर नीतिलाई अगाडि बढाउनु आवश्यक छ भन्ने शिक्षा दिएको छ।
सामुदायिक विद्यालयका शिक्षक जति राजनीति गर्ने, व्यापार गर्ने, संघ–संस्था चलाउने अनि गुणस्तरीय शिक्षा, उत्कृष्ट जनशक्तिको अपेक्षा गर्ने ? यो असम्भव छ। यही हो छक्का पन्जा–३ को सन्देश। यो सन्देशलाई अब हरेक विद्यालय, हरेक समाज र हरेक समूहमा पुर्याउनु जरुरी छ। हैन भने मुलुकमा सामुदायी विद्यालयको तुलनामा निजी विद्यालय नै उत्कृष्ट भइरहन्छ। र, शिक्षामा सरकारको लगानी बालुवामा पानीमात्र हुन्छ।
शैक्षिक सुधारका लागि छक्का पन्जा–३ ले दिएको तीन सन्देश र तीन पक्षलाई तीन वर्ष, तीन महिना या तीन दिनमा हैन तत्कालै कार्यान्वयनमा ल्याउने प्रयत्न हुनुपर्छ।
छक्का पन्जा–३ ले मूलतः तीनवटै सन्देश दिएको छ। पहिलो सामुदायिक विद्यालयको नेतृत्व सक्षम र कडा हुनुपर्छ, दोस्रो विद्यालय सञ्चालनका लागि नीति स्पष्ट हुनुपर्छ र तेस्रो विद्यालयमा कुनै पनि बहानामा राजनीति घुस्नु हँुदैन। तर, दुःखको कुरा के छ भने नेपालको सन्दर्भमा सामुदायिक विद्यालयमा यी तीनवटा कुराचाहिँ हुँदैन।
छक्का पन्जा–३ ले भनेको छ– सामुदायिक विद्यालयमा नभएको तीनवटा कुरा प्राप्त गर्न सर्वप्रथम अभिभावकले आफ्नो क्षेत्रको विद्यालय सुधारका लागि राजनीतिक आवरणलाई हटाउनुपर्छ। र, सामूहिक प्रयासबाट विद्यालय सुधारको कसम खानुपर्छ। जब अभिभावकले राजनीतिक आवरण हटाएर विद्यालयको सुधारमा चासो दिन्छन्, शिक्षकले आफ्नो दायित्व निर्वाह गर्न शुरू गरिहाल्छन्।
विद्यालयमा राजनीति नगर्ने भन्नुको अर्थ अभिभावको संगठन नबनाउने, विद्यार्थीको संगठन नबनाउने, शिक्षकको संगठन नबनाउने भन्ने हँुदै होइन। संगठन सबै पेसा व्यवसायमा आवश्यक हुन्छ तर त्यस्तो संगठनलाई राजनीतिक दलको मोहराका रूपमा प्रयोग गर्नुहँुदैन। विद्यार्थीले संगठन बनाउने र त्यो संगठनलाई भौतिक सुधार र शैक्षिक सुधारका लागि प्रयोग गर्ने।
जस्तै शिक्षकले नियमित पढाउने गरेको छ कि छैन, विद्यालयमा विषयगत शिक्षक छन् कि छैनन्, विद्यालयमा आवश्यक पाठ्यपुस्तक र शैक्षिक सामग्री छन् कि छैनन् जस्ता कुरामा विद्यार्थी संगठनको ध्यान जानुपर्छ। शिक्षकले संगठन बनाउने तर त्यो संगठनलाई विद्यालयको भौतिक सुधार र शिक्षकको सुविधार र मर्यादाका लागि प्रयोग गर्ने।
जस्तै शिक्षकको सेवा सुविधा प्रयाप्त छ कि छैन, सरकार, अभिभावक, विद्यार्थीले शिक्षकको मर्यादा राखेका छन् कि छैनन्, सरकारले विद्यालयमा आवश्यक शैक्षिक सामग्री र भौतिक सामग्री उपलब्ध गराएको छ कि छैन जस्ता कुरामा शिक्षकको संगठनले ध्यान दिनुपर्छ। अनि अभिभावकले संगठन बनाउने तर त्यो संगठनले विद्यालय सुधार, शैक्षिक गुणस्तर सुधार तथा नीति कार्यान्वयनका लागि काम गर्ने।
जस्तै सरकारले प्रतिबद्धताअनुसार विद्यालय सुधारमा काम गरेको छ कि छैन, शिक्षक नियमित विद्यालयमा उपस्थित छन् कि छैनन्, विद्यार्थीको केही समस्या छ कि ? विद्यार्थी नियमति छन् कि छैनन्, विद्यालयमा प्राप्त बजेट सदुपयोग भएको छ कि छैनजस्ता कुरा अभिभावकको संगठनले हेर्नुपर्छ।
यसरी शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने तीनवटै निकायले पेसागत एवं व्यवसायिक संगठन निर्माण गर्ने र त्यसलाई दलगत राजनीतिबाट अलग राखेर मर्यादित ढंगले सञ्चालन गर्ने हो भने सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कुनै पनि कुरामा कम हुँदैन। अझ उत्कृष्ट सामुदायिक विद्यालयका विद्यार्थी हरेक हिसाबले निजी विद्यालयको विद्यार्थीभन्दा अब्बल हुन्छन्। तर, समस्या, यस्तो दिन कहिले आउने होला ? शिक्षामा देखिएको राजनीतिक विकृतिको अन्त्य कहिले हुने होला ?
प्रसंग फेसर छक्का पन्जा–३ कै। यो फिल्ममात्र हैन समाजमा देखिएको शैक्षिक विकृतिको सजीव चित्र पनि हो। शिक्षा क्षेत्रमा राजनीति कति नराम्रोसँग घुसेको छ र त्यसको असर कस्तो छ भन्ने जीवन्त कथा छ छक्का पन्जा–३ मा। त्यसैले यो फिल्मलाई हरेक विद्यालयमा पुर्याउनुपर्छ। यो फिल्म हरेक शिक्षकले हेर्नुपर्छ, हरेक अभिभावकले हेर्नुपर्छ र हरेक राजनीतिक नेताले हेर्नुपर्छ।
र, यसको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ। कमसे कम स्थानीय सरकारले छक्का पन्जा–३ लाई आफ्नो पालिकाभित्र कुनै एउटा स्थानमा प्रदर्शनको व्यवस्था मिलाउने र त्यहाँ शिक्षक, अभिभावक, राजनीतिज्ञ, विद्यार्थीलाई फिल्म देखाउन सकिने हो भने त्यसले शैक्षिक सुधारमा थोरै भए पनि योगदान गर्न सक्छ।
अनि सबैभन्दा मुख्य कुरा संघीय सरकारले त्यो फिल्मको जीवन्त कथालाई आत्मसात गर्दै त्यसको सन्देशलाई कार्यान्वयन गर्न पहल शुरू गर्नुपर्छ। हैन भने हाम्रो मुलुकको शिक्षा क्षेत्रमा कहिल्यै सुधार आउन सक्दैन र राजनीति पुस्तौंपुस्ता थप विकृत बन्दै जान्छ।
अन्त्यमा, छक्का पन्जा–३ जस्तो फिल्म मुलुकमा अत्यन्त कम बन्छ। त्यसैले शैक्षिक सुधारका लागि छक्का पन्जा–३ ले दिएको तीन सन्देश र तीन पक्षलाई तीन वर्ष, तीन महिना या तीन दिनमा हैन तत्कालै कार्यान्वयनमा ल्याउने प्रयत्न हुनुपर्छ। त्यो प्रयत्न संघ, प्रदेश र स्थानीय सरकार अनि विद्यार्थी, शिक्षक, अभिभावक तथा फिल्मको कलाकार, निर्माता र निर्देशकले पनि गर्नुपर्छ।
प्रतिक्रिया