बेलायतको क्याबिनेटद्वारा ब्रेक्सिट मस्यौदा सहमति पारीत


लन्डन (एजेन्सी)
बेलायतको क्याबिनेटले नोभेम्बर १४ मा ब्रेक्सिट मस्यौदा सहमतिलाई पारित गरेको छ । नोभेम्बरको अन्त्यसम्ममा मस्यौदा सहमति स्विकृतिका लागि युरोपेली संघ समक्ष पठाइने छ ।

डिसेम्बरमा उक्त सम्झौता प्रस्तावलाई बेलायतको संसदमा पेश गरिनेछ । यदि संसदले प्रस्तावको पक्षमा मतदान गरेमा अर्को बर्षको सुरुवाटमा युरोपेली संघबाट हट्ने विधेयक प्रस्तुत गरिनेछ । यदी संसदबाट अस्विकृत भएमा सरकारले २१ दिन भित्र नयाँ प्रस्ताव तयार गर्नु पर्नेछ ।

बेलायती संसदले उक्त प्रस्तावलाई अनुमोदन गरेमा युरोपेली संघ संसदले यसलाई सामान्य बहुमतबाट पारित गर्नु पर्नेछ ।

युरोपेली संघले बेलायतसँगको ब्रक्सिटसँग सम्बन्धित सम्झौताको प्रस्तावित मस्यौदामा राजी भएपनि अझै धेरै कुरा गर्न बाँकी रहेको जनाएको छ । ब्रेक्सिटमा प्रमुख मध्यस्थकर्ता माइकल बर्नियरले भने– दुबै पक्ष (युरोपली संघ र बेलायत)लाई अझै लामो यात्रा तय गुर्न पर्छ ।

यसअघि बेलायती सरकारको मन्त्रिपरिषदका मन्त्रीले पाँच घण्टा लामो छलफलपछि बेलायत युरोपेली संघबाट बाहिरिने सम्बन्धि सम्झौताको मस्यौदा प्रस्ताव पारीत गरेका थिए । यसको जानकारी दिँदै बेलायती प्रधानमन्त्री टेरिजा मेले त्यसलाई निर्णायक फैसला भएको र त्यो बेलायती जनताको हितमा रहेकोमा आफु पुर्ण यकिन भएको बताएकी छिन् ।

मस्यौदा प्रस्तावमा सहमतिपछि अब युरोपेली संघ र बेलायतबीच बैठकको लामो सृंखला चल्नेछ । पहिलो बैठक नोभेम्बर २५ मा हुनेछ र त्यसले युरोपेली संघको ब्रक्सिट सम्झौतालाई पारीत गर्ने योजना छ ।

ब्रेक्सिट मुद्दामा टेरिजा मेलाई मन्त्रिमण्डलको पुर्ण सहयोग प्राप्त भएको छ । तर उनको वास्तविक परीक्षा संसदमा हुनेछ जहाँ उक्त सम्झौता अनुमोदन गर्न कठिन साबित हुन सक्छ ।

यसको संकेत विहिबार विहान बर्नियरका बेलायती समकक्ष र ब्रेक्सिट सचिव डोमिनिक राबले ‘अन्तरआत्माबाट यो सम्झौतालाई समर्थन नगरेको ‘ टिप्पणी गर्दै आफनो जिम्मेवारीबाट राजिनामा दिएका थिए ।


बर्नियरले विहिबार विहानै युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कलाई ५ सय ८५ पृष्ठको उक्त प्रस्तावित मस्यौदा सम्झौता सुम्पेका छन् । सम्झौता राम्रो र सन्तुलित भएको उनले बताएका छन् । अब उनले युरोपेली संसदलाई उक्त सम्झौता मस्यौदाको जानकारी दिनेछ ।

टस्कले बर्नियरको कामको प्रसंसा गर्दै सम्झौता सबै २७ सदस्यको हितमा रहेको र युरोपेली संघका लागि राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

यो सम्झौतालाई बेलायत र युरोपेली संघबीच सम्बन्ध विच्छेद दस्तावेजका रुपमा हेरिएको छ । यसकालागि बेलायतले युरोपेलीसंघलाई क्षतिपुर्ति दिनुपर्ने हुन्छ । यसमा बेलायतले युरोपेली संघलाई ३९ अर्ब पाउन्ड भुक्तानी गर्नु पर्ने अनुमान गरिएको छ ।

बुधबार ब्रसेल्समा संवाददाताहरुसँगको कुराकानीमा बर्नियरले उक्त सम्झौतामा आयरल्यान्डसँगको सीमा मुद्दा सबैभन्दा चिन्ताको विषय भएको बताएका थिए ।

यसै महिनाको अन्त्यमा यस विषयमा २७ देशका नेताहरुको बैठक हुन सक्छ र त्यहाँ मस्यौदामा छलफल हुनेछ । यसमा सहमति बनेपछि ब्रक्सिटको सम्झोतालाई बेलायत र युरोपेली संघको संसदमा पेश गरिने छ ।