मुस्ताङमा व्यावसायिक एकाधिकार



आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास भैरहेको मुस्ताङमा पर्यटकहरुको ओइरो लागिरहेको छ । प्राकृतिक रुपमा मनोरम दृश्य, मुक्तिनाथ मन्दिर, चीनसँग सिमाना जोडिएको कोरल्ला नाकालगायतका कारणले मुस्ताङ यति बेला आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको हो ।

पहिले–पहिले यातायात क्षेत्रमा रहेको एकाधिकारका कारण आन्तरिक पर्यटक पुग्न कठिन हुने गरेको थियो । मुस्ताङका व्यवसायीले मात्रै यातायात चलाउन पाउने एकाधिकारका कारण लामो दूरीको यात्रा गरेर मुस्ताङ पुग्ने आन्तरिक पर्यटकका लागि निकै कठिन हुने गरेको थियो । स्थानीय व्यवसायीहरुको भनाइलाई आधार मान्ने हो भने एकाधिकार तोडिएपछि मुस्ताङमा पर्यटकको संख्या सयौं गुनाले बढेर गएको छ । नेपालमा चाडपर्वका बेला हुने निकै लामो बिदा र सोही समय मुस्ताङ घुम्नका लागि हावापानी तथा मौसमका हिसाबले उत्तम हुने भएका कारणले पनि मुस्ताङमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो ।

मुस्ताङको एकाधिकारको ढोका खुलेपछि त्यहाँ पुगेका सञ्चारमाध्यमका कारण एकहिसाबको प्रचारप्रसारको अवसर मुस्ताङले पाएको छ भने अर्कोतर्फ पछिल्लो समय मुस्ताङको मनोरम दृश्यलाई चलचित्र तथा टेलिचलचित्रहरुले आफ्नो पर्दामा उतारेर प्रचारप्रसार गरेका कारणले पनि मुस्ताङमा पर्यटकको संख्या वृद्धि गर्नको लागि थप मद्दत गरेको छ ।

पर्यटकहरुको संख्या बढ्दै गएका कारण यति बेला मुस्ताङमा बस्ने तथा खाने ठाउँहरुको अभाव हुन थालेको छ । सीमित स्रोत–साधनमा खोलिएका होटल तथा रेस्टुरेन्टहरुमा खाना र बस्नको व्यवस्थापन नभएका कारण आफ्नै सवारी तथा खुल्ला चौरमा चिसो खान पर्यटकहरु बाध्य छन् । केही वर्षपहिला यातायात क्षेत्रमा रहेको एकाधिकारजस्तै त्यहाँको होटल व्यवसायमा समेत एकाधिकार छ, जसका कारण बाहिरी जिल्लाबाट लगानी भित्रिने र नयाँ होटल तथा रेस्टुरेन्टहरु खुल्ने सम्भावना कम देखिन्छ । त्यहीँ रहेका व्यवसायीहरुलाई पनि थप व्यवसाय विस्तारको लागि समय तथा जनशक्तिको अभाव हुने गरेको छ ।

यातायात क्षेत्रको एकाधिकार तोडिएसँगै मुस्ताङ पुग्ने नेपाली तथा विदेशीहरुको संख्या बढ्दै गएको छ । सोही कुरालाई आधार बनाएर अन्य पेसा तथा व्यवसायको क्षेत्रमा रहेको एकाधिकारको अन्त्य गर्न समेत मुस्ताङका सरोकारवालाले ध्यान दिनु जरुरी छ । आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रुपमा विकास भैरहेको मुस्ताङलाई सबै नेपाली एकपटक पुग्नै पर्ने ठाउँको रुपमा विकास गर्नका लागि प्रकृतिले दिएका सबै वैभवहरुको सदुपयोग गरेर विचार र व्यवसायमा उदारताको आवश्यकता रहेको छ ।
– उत्तम आचार्य, दोलखा ।

प्रतिक्रिया दिनुहोस्