मधुमेहका कारण आँखामा असर र बचावट


 

-डा. रबा थापा
नसर्ने रोग समूहमा पर्ने रोगहरुमध्ये मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रुपमा संसारभरि नै देखा परेको छ । विकसित मुलुकहरुमा जनचेतना र स्वास्थ्य चेतनाको कारण मधुमेह रोग र यसबाट उत्पन्न जटिलताहरुको धेरै नै नियन्त्रण भए तापनि खानपानमा आएको परिवर्तन, जीवनशैलीमा परिवर्तन, जनचेतनाको अभाव तथा स्वास्थ्य सुविधाहरुको पहुँचको कमीको कारणले नेपालजस्तो अल्पविकसित देशमा मधुमेह र यसले स्वास्थ्यमा पार्ने गम्भीर समस्याहरु एक स्वास्थ्य चुनौतीको रुपमा बढ्दै गएको देखिन्छ ।

नेपालमा हाल करिब १० लाख मधुमेहका बिरामी रहेको अनुमान छ । शहरी क्षेत्रमा मधुमेह भयावहरुपमा नै बढिरहेको पाइन्छ । नेपाल मधुमेह संघले गरेको अध्ययनले शहरी क्षेत्रका ४० वर्षमाथिका करिब १९ प्रतिशत र २० वर्षमाथिका १५ प्रतिशत मानिसहरु यस रोगको जोखिममा रहेको देखाएको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार नेपालमा ७.५ प्रतिशत वयष्कहरुमा मधुमेहको समस्या रहेको देखाइएको छ । नेपालमा गरिएका अन्य अध्ययनहरुले पनि मधुमेहको यस्तै खाले नतिजाहरु देखाएका छन् ।
मधुमेह एक दीर्घरोग हो, जसले शरीरका अत्यन्त संवेदनशील अंगहरु जस्तै– मुटु, मृगौला, आँखा, स्नायु र खुट्टामा विशेष असर पु¥याई अल्पायुमै मृत्युको मुखसम्म पु¥याउन सक्छ ।

सन्दर्भ: विश्व मधुमेह दिवस

मधुमेहका कारणले आँखामा हुने असर
मधुमेहमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या हुन्छ भने २५ गुणा बढी दृष्टिविहीन हुने सम्भावना हुन्छ । मधुमेहको मुख्य असर आँखाको पर्दा (रेटिना) मा हुने गर्दछ । रेटिना आँखाको भित्री भागमा रहेको स्नायु तन्तुले बनेको र दृटिको लागि अत्यन्त महत्वपूर्ण पारदर्शी झिल्ली हो । अन्य अंगहरुमा जस्तै मधुमेहले रेटिनाको रक्तनसाहरुमा असर गरी रेटिनामा रक्तश्राव हुने, सुन्निने, रक्तसञ्चालनमा कमी हुने र आँखाभित्र अत्यधिक रक्तश्राव हुनुको साथै पर्दा खुम्चिएर दृष्टिमा धेरै नै क्षति पु¥याउँछ र आँखाको दृष्टि कमजोर गराउँछ । मधुमेहले आँखाको रेटिनामा हुने यी असरहरुलाई डायबेटिक रेटिनाप्याथी भनिन्छ ।

डायबेटिक रेटिनाप्याथी भए तापनि शुरुको अवस्थामा बिरामीमा कुनै पनि लक्षणहरु देखा पर्दैनन् । रेटिनामा धेरै क्षति भएपश्चात् मात्र दृष्टि धमिलो वा कमजोर हुन थाल्दछ । यस अवस्थामा आइपुग्दासम्म रेटिनामा निकै क्षति भैसकेको हुन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण नहुने व्यक्तिहरु, साथमा उच्च रक्तचाप र चिल्लोको मात्रा अधिकतम हुने तर नियन्त्रणमा नरहेका व्यक्तिहरु, मिर्गौलामा मधुमेहको असर भएका व्यक्तिहरु, रक्तअल्पता, गर्भावस्था र धूमपान गर्ने व्यक्तिहरुमा डायबेटिक रेटिनाप्याथीको जोखिम अत्यन्त बढी हुन्छ । मधुमेहको समयावधि बढ्दै जाँदा डायबेटिक रेटिनाप्याथीको सम्भावना पनि बढ्दै जान्छ ।

मधुमेह रोग पत्ता लाग्दा विकसित मुलुकका करिब ५ प्रतिशत बिरामीमा डायबेटिक रेटिनाप्याथी भएको पाइएको छ भने हाम्रो देशमा गरिएका अध्ययनले यो संख्या झन्डै दोब्बर देखाएका छन् । यसको मुख्य कारण मधुमेह रोग समयमा नै पहिचान नहुनु र रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनु नै हो । मधुमेह भएको २० वर्षको अवधिमा पहिलो प्रकारका करिब सबै बिरामी र दोस्रो प्रकारको मधुमेहका करिब दुई तिहाई बिरामीमा डायबेटिक रेटिनाप्याथी भएको पाइन्छ । मधुमेहका बिरामीहरुमध्ये करिब एक तिहाइलाई डायबेटिक रेटिनाप्याथी भएको पाइन्छ भने ती मध्येका एक तिहाइलाई दृष्टि जोखिममा रही तुरुन्त आँखाको उपचार चाहिने हुन्छ ।

नेपालमा गरिएका अध्ययनले मधुमेहका बिरामीमध्ये २० देखि २५ प्रतिशत बिरामीहरुमा डायबेटिक रेटिनाप्याथी भएको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दृष्टिविहीनमध्ये ४.८ प्रतिशत कारण डायबेटिक रेटिनाप्याथी भएको आँकडा छ । यसअनुसार डायबेटिक रेटिनाप्याथी दृष्टिविहीन हुनेको पाँचौं मुख्य कारणभित्र पर्दछ ।

डायबेटिक रेटिनाप्याथीबाहेक मधुमेहका बिरामीमा आँखा सुख्खा हुने, आँखामा तारन्तार आनो आउने, आँखाको दृष्टिक्षमता घटबढ भैरहने, मातिविन्दु, जलविन्दु र आँखाको नसाका समस्याहरु बढी मात्रामा देखिन्छन् । समयमा नै डायबेटिक रेटिनाप्याथीको पहिचान गरी उपचार गर्न सके मधुमेहका कारणले हुने दृष्टिविहीनतावाट पूर्णरुपमा बचाउन सकिन्छ ।

बचावटका उपायहरु
मधुमेह रोगको समयमै पहिचान गरी रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्दछ । मधुमेह रोग पत्ता लाग्नासाथ र वर्षमा नियमित एकपटक आँखाको रेटिना परीक्षण गराउनुपर्दछ । यदि आँखामा असर परेको देखिएमा नेत्र विशेषज्ञको सल्लाहअनुसार उपचार तथा नियमित परीक्षण गराउनुपर्दछ ।
यसको अलावा यदि साथमा उच्च रक्तचाप र चिल्लोको मात्रा अधिकतम हुने बिरामीले यसको नियन्त्रणलाई मुख्य प्राथमिकता दिनुपर्दछ । अन्य जोखिममा रहेका व्यक्तिहरु जस्तै– मिर्गौलामा मधुमेहका असर भएका व्यक्तिहरु र रक्तअल्पताको समस्या भएका व्यक्तिहरुले रोगको उपचार गर्नुको साथै नियमित आँखाको रेटिना परीक्षण गराउनुपर्दछ । यसै गरी गर्भावस्थामा डायबेटिक रेटिनाप्याथीको समस्या बढी हुने भएकोले समय–समयमा रेटिना परीक्षण गराउनुपर्दछ । धूमपान र मद्यपान गर्ने व्यक्तिहरुमा डायबेटिक रेटिनाप्याथीको जोखिम बढी हुने हुँदा धूमपान र मद्यपानको सेवन पूर्णरुपमा त्याग्नुपर्दछ ।

प्रत्येक वर्षको नोभेम्बर १४ का दिन संसारभरि नै विश्व मधुमेह दिवसका रुपमा सन् १९९१ देखि मधुमेह र यसले पार्ने जटिलताका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदै आएको छ । यस वर्ष मधुमेह र परिवार भन्ने भावसहित ‘मधुमेह सबै परिवारको सरोकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ । परिवारमा कसैलाई मधुमेह छ भने परिवारका अन्य सदस्यहरुलाई पनि मधुमेहको जोखिम हुने सम्भावना बढ्नुका साथै परिवारका सम्पूर्ण सदस्यहरुलाई मानसिक तथा भौतिक समस्या हुने भएकोले प्रत्येक परिवारमा मधुमेह रोग र यसले निम्त्याउने शारीरिक समस्या र समाधानका उपायहरु जान्नुपर्ने आजको आवश्यकता रहेको छ ।
(लेखक डा. थापा तिलगङ्गा आँखा प्रतिष्ठानमा नेत्र तथा रेटिना रोग विशेषज्ञ हुनुहुन्छ ।)