वार्नर र स्मिथले खेले


मेलबर्न, (एजेन्सी)
बल टेम्परिंगमा सामेल भएपछि एक–एक वर्ष प्रतिबन्धमा परेका दुई खेलाडी डेविड वार्नर र स्टिभ स्मिथ एकसाथ पहिलो पटक खेलेका छन् ।

अस्टे«लियाका पूर्व कप्तान स्मिथ र पूर्व उपकप्तान वार्नर कुगी ओभलमा शनिबार भएको खेलमा सिड्नीका आ–आफनो टोलीबाट खेलेका हुन् । यसमा शेन वाटसन र मिशेल जोन्सनले पनि खेलेका थिए ।

उनीहरुलाई धेरै संख्यामा आएका दर्शकले पनि न्यानो स्वागत गरेको थियो । यी दुबै जना खेलाडीले आफना प्रशंसकलाई अटोग्राफ दिएर तस्वीर खिँचाएका थिए । एक अखबारले जनाएअनुसार कोही पनि दर्शकले उनीहरुमाथि अभद्र व्यवहार गरेका थिएनन् ।

वार्नरको रेंडविक पीरटशेम टोलीलाई स्मिथको सदरल्यान्ड टोलीले पहिलो ब्याटिङ गर्न निमन्त्रणा दिएको थियो । वार्नर २ चौकासहित १३ रन बनाउँदा आस्टिन वागको बलमा आउट हुन पुगेका थिए । तर स्मिथले भने राम्रो खेले । उनले ४८ रन बनाएका थिए । तर उनीहरुलाई वाटसनले छायामा पारे । उनले ४१ बलमा ६३ रन बनाउनुका साथै ३ विकेट पनि लिएका थिए ।

वार्नर र स्मिथले गत वर्ष मार्चमा केपटाउनमा भएको टेस्टमा बल टेम्परिङ गरेको पाएपछि राष्ट्रिय टोलीबाट छुट्टी हुनु परेका थिए । उनीहरुलाई एक–एक वर्षका लागि क्रिकेट खेल्नबाट प्रतिबन्ध गरिएको छ । तर घरेलु क्रिकेट खेल्नबाट भने उनीहरुलाई छुट दिइएको छ ।