बार्सिलोना विजयी


लन्डन, (एजेन्सी)
लुइस स्वारेजको दुई गोलको मद्धतले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भाएकानोलाई हराएको छ ।
ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोना ३–२ ले विजयी भएको हो । खेलको अन्तिम तीन मिनेटभित्र दुई गोल गर्दै बार्सिलोनाले महत्वपूर्ण तीन अंक हासिल गरेको हो । स्वारेजले खेलको १० औं मिनेट र इन्जुरी समयमा गोल गरेका थिए । पहिलो हाफको १० मिनेट समय बाँकी रहँदा घरेलु टोली भालेकानोले बराबरी गोल फर्काएको थियो । जोसे पोजोको गोलसँगै पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो ।

खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना स्तब्ध बनेको थियो । खेलको ८७औं मिनेटमा अस्माने डेम्बेलेले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका थिए । यस्तै खेलको ९०औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे । चोटका कारण लियोनल मेसी विश्राममा रहेको बेला पनि बार्सिलोनाले राम्रो प्रदर्शन गर्दै आएको छ । जितसँगै बार्सिलोना ११ खेलबाट २४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै अर्को खेलमा अन्तरिम प्रशिक्षक सेन्टियागो सोलारीको नेतृत्वमा रियल मेड्रिडले पनि लगातार दोस्रो जित निकालेको छ । जुलन लोपेटेगुईको बर्खास्तीपछि टोली सम्हालेका सोलारीले यसअघि पहिलो खेलअन्तर्गत कोपा डेल रे मा मेलिलामाथि जित निकालेका थिए ।
उनको नेतृत्वको दोस्रो खेलमा रियल मेड्रिडले रियलले भलाडोलिडलाई २–० गोलले हराएको हो । ला लिगा अन्तर्गत घरेलु मैदानमा भलाडोलिडलाई हराउने क्रममा सर्जियो रामोसले गोल गरे भने अर्को एक आत्मघाती गोल मेड्रिडले उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए ।

खेलको ७३ औं मिनेटमा मार्को एसेन्सियोको स्थानमा मैदान प्रवेश गरेका भिनिसियस जुनियरले ८३ औं मिनेटमा प्रहार गरेको उत्कृष्ट प्रहारलाई भलाडोलिडका किकोले आत्मघाती गोलमा परिणत गरेपछि रियलले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै रियलले पेनाल्टी पाएको थियो । जसलाई कप्तान सर्जियो रामोसले गोल गर्दै मेड्रिडका लागि दोस्रो गोल गरे ।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको रियल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट १६ खंक जोडेको भलाडोलिड भने आठौं स्थानमा छ । शनिबारै भएको अन्य खेलमा गिरोनाले भ्यालेन्सियालाई १–० ले हरायो भने लेगनेस र एट्लेटिको मेड्रिडबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।