आइपिएलको उपाधि बिराटनगरलाई


गणेश घिमिर, इलाम
इलाममा शनिबार सम्पन्न प्रदेश नम्बर १ स्तरीय इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि पाहुना टिम वाईआरसिसि बिराटनगरले उचालेको छ ।

बिराटनगरले आयोजक इलामलाई २८ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैंयाँ पुरसकार प्राप्त गरे । टस जितेर ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
ओपनर ब्याट्सम्यान र मध्यक्रमका ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दा आयोजकका बलरहरु निक्कै समस्यामा देखिएका थिए । बिराटनगरका लागि अजय राजबंशिले २३ बलमा बिस्फोटक ब्याटिङ गर्दै ४० रन बनाए । आयोजकका हेमन राई, बिनोद कोइराला र अर्जुन पौडेलले समान २÷२ विकेट लिए ।

१ सय ५७ रनको बिजय लक्ष्य लिएर मैदान उत्रेको इलामका ब्याटसम्यान बिराटनगरका बलरहरुसंग टिक्न नसक्दा मात्र १ सय २८ रनमै अलआउट भएको थियो । सन्दिप ढुंगानाले ३१ बलमा ३२ रन बनाउनु नै व्यक्तिगत ठूलो योगदान बनेको थियो । बिराटनगरका बलरमा अजय राजबंशि र मेहबुव आलमले २÷२ विकेट लिए ।