घरेलु टोली पोखरा फाइनलमा, बुटवल, विराटनगर र धनगढी बाहिरिए


विजय नेपाली, पोखरा
घरेलु टोली पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाण्डौँ रोयल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । विराटनगर टाइटन्स, धनगढी र बुटवल ब्लास्टर्स भने प्रतियोगिताबाट बाहिरीएका छन् । १ सय चार रनको लक्ष्य पोखराले सहजै भेटाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौँले ६ विकेटको क्षतिमा १ सय ३ रन मात्रै बनाउन सक्यो । टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाउनु बाहेक अन्यले खासै रन जोड्न सकेनन् ।

ओपनर व्याट्सम्यान अमित श्रेष्ठ २१ रनमा एलविडव्लुको सिकार हुन पुग्दा अर्का व्याट्सम्यान जय कृष्ण कौसवाल शुन्यै पवेलियन फर्केका थिए । गौरव तमोर पनि एक बलको सामना गर्दै आउट भएपछि काठमाडौंमाथि चर्को दवाव भएको थियो । बलर वसन्त रेग्मीले १९ रनको योगदान दिनु नै काठमाडौंले एक सय रन योगफल कटाउन मद्दत पुगेको थियो।

 

अन्यमा पवन सराफ १२, नरेश बुढाएर ६, आदिल खान ७, अमर राउटेला १, सुसान भारी र नन्दन यादव शुन्यमा आउट भए । पोखराका बलरमा ललित राजवंशीले ३ विकेट लिए । त्यस्तै रसिद खान र मोहम्मद नाभिदले समान २–२ तथा विक्रम भुषालले १ विकेट हासिल गरेका थिए ।

पोखराको जितमा मोहम्मद नाभिदले सर्वाधि ३६ रन जोडे । म्यान अफ द म्याच घोषित उनले १५ बलमा ५ छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेलले १४ रन र मोहम्मद आसिफ सेखले १६ रन बनाएका थिए । त्यस्तै रविइन्दर सिंह २२ र रोहित पौडेल १५ रनको योगदान दिएका थिए । विनोद भण्डारी, कृष्ण कार्की र कप्तान शरद भेषवाकरले खाता पनि खोल्न सकेनन् । काठमाण्डौँका बलरमा अमर राउटेलाले ३, पवन सर्फ, नन्दन यादव र शुशान भारीले समान १–१ विकेट लिए ।

यसैगरी दोस्रो खेलमा चितवन राइनोजले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ । जितसंगै चितवन शीर्ष ३ मा पर्न सफल भएको छ । टस जितेर व्याटिङ रोजेको विराटनगरले ५ विकेट गुमाउँदै १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टोलीका लागि ओपनर मोहम्मद जहिद अलमले ५१ रन जोडेका थिए । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर सुनिल धमालाले ४५ बलमा ७ चौका प्रहार गर्दै ४७ रनको राम्रो शुरुवाति दिलाएका थिए । ओपनरद्धय मोहम्मद र सुनिलले ८७ रनको साझेदारी गर्नु बाहेक अन्य ब्याट्सम्यानले रन बटुल्न सकेनन् । प्रदिप ऐरी ११, एन्टन एन्ड्रियु ४, राजेश पुलामि ८, राजु रिजाल ६ र पुष्प थापाले ११ रन मात्र जोड्न सके । बलिङतर्फ चितवनका कप्तान पारस खड्का र स्मित पटेलले समान २–२ विकेट तथा करण केसीले १ विकेट लिए ।

एक सय ४६ रनको लक्ष्य पछ्याएको चितवनले ६ विकेट गुमाउँदै आफ्नो लक्ष्य पुरा गरेको हो ।
टोलीको जितमा सन्नि पटेलले ५१ रन बनाउँदै टोलीको जित पक्का गरेका थिए । म्यान अफ द म्याच घोषित उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । ओपनर हरीशंकर शाह पहिलो बलमानै पभेलिभियन फर्किए । अर्का ओपनर अनिल शाह १३, कप्तान पारस खड्का ७, स्मिथ पटेल २१ आरिफ सेख ३५, भुवन कार्की शुन्यमा आउट भए । सोनु तामाङले ११ रन जोडे । विराटनगरका कप्तान सन्दिप लामिछानेले ४ विकेट लिएपनि जित भने संभव बनाउन सकेनन् । यस्तै सहाव आलम र सुनिल धमालले समान १–१ विकेट लिए ।