महिला टोलीलाई सम्मान, अबको चुनौती कठिन


फिरोज राजोपाध्याय, काठमाडौं
भुटानको थिम्पुमा भएको साफ यु १८ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली शुक्रबार सम्मानित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही नगद ५० हजार प्रदान गर्दै टोलीको सम्मान गरेको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको सो प्रतियोगितामा नेपाल उपाधिकै दावेदारी थियो। तर फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलअन्तरले हार्न पुग्यो र उपविजेतामै चित्त बुझाउनुपरेको थियो। यद्यपि नेपाल समूह चरणमा पनि सोही प्रतिद्वन्द्वीसँग २–१ ले हारेको थियो। नेपालका लागि स्ट्राइकर रेखा पौडेलले सर्वाधिक ९ गोल गरेकी थिइन्। पाकिस्तानलाई १२–० गोलअन्तरले हराउँदा रेखा एक्लैले ७ गोल गरिन्।

सोही महिला फुटबल टोली उत्कृष्ट भएको पनि हालै थाइल्यान्डमा सम्पन्न एएफसी यु –१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो चरण छनोट पार गर्दै इतिहास रच्नसमेत सफल भएको छ। नेपाल एएफसीअन्तर्गत पहिलोपटक कुनै पनि उमेर समूहको दोस्रो चरणमा पुगेको हो। यस हिसाबले यो टोलीलाई सम्मानले मात्रै पुग्दैन दोस्रो चरण छनोटका लागि अझ बलियो बनाउन एन्फाले योजना बनाउनुपर्छ।

दोस्रो चरणको खेल अर्को वर्षको अप्रिलमा हुनेछ। तर समय केवल ६ महिनाको रहेको छ। यति भित्रमा अहिलेसम्म प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता मात्रै आयोजना हुनेछ। यतिले नेपाली टोलीलाई बलियो बनाउन पनि सकिँदैन। कम्तीमा फ्रेन्डली म्याच गर्नुपर्छ र सकेमा बाहिर अभ्यासको लागि पनि लग्नुपर्छ। किनभने दोस्रो चरणमा ठूल्ठूला टोली रहेका छन्। भियतनाम, दक्षिण कोरिया, म्यानमार, अस्टे«लिया, लेबनान, इरान र उज्बेकिस्तानमध्ये ३ बलिया टोलीसँग नेपालको सामना हँुदै छ। अप्रिल २२ देखि शुरू हुने दोस्रो चरणको छनोट प्रतियोगितामा यी ८ टोलीलाई २ समूहमा विभाजित गरिनेछ।

नेपालको समूहमा कुन–कुन टोली पर्नेछ त्यसको टुंगो पछि नै लाग्नेछ। तर जो परे पनि नेपालका लागि ठूलै चुनौती हुनेछ। तर यसलाई अवसरका रूपमा पनि लिने मौका छ। समूहका शीर्ष दुई÷दुई टोली थाइल्यान्डमा हुने एएफसी यु १९ महिला च्याम्पियनसिप २०१९ का लागि छनोट हुनेछन्। जहाँ ४ टोली उत्तर कोरिया, थाइल्यान्ड, चीन र जापान पहिल्यैै छनोट भएर रहेका छन्।

एन्फाले यसलाई मध्यनजर गरी कसरी हुन्छ टोलीलाई एक्सपोज गर्ने त्यसमा ध्यान दिनु अति आवश्यक छ। यो मौका छाड्नु पनि हुँदैन। थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा पहिलो खेलमा हार्नु र अर्को खेलमा भारतले पाकिस्तानलाई १८–० गोलअन्तरले हराउँदा नेपाललाई दोस्रो खेलमा चर्को दबाब भएको थियो। तर पनि दोस्रो खेलमा भारतलाई रेखा पौडेलको दुई गोलको सहयोगमा २–० ले हराएको थियो। यसले नै यो टोली दबाबमा पनि राम्रो खेल्न सक्छ भन्ने स्पष्ट हुन्छ। यो टोलीलाई जतिसक्दो एक्सपोज गर्दै लानुपर्छ। यसका लागि एन्फाको मद्दतबिना हुन सक्दैन। एन्फाले सम्मान दिएर आफ्नो जिम्मेवारी सकियो भन्ने पहिले झैं लिएमा नेपाली टोलीले दोस्रो चरणमा राम्रो गर्न शायदै सकिएला।

नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक हरिओम श्रेष्ठले टोलीमा केही कमी कमजोरी रहेको बताउनुभएको छ। नेपाल समाचारपत्रसँग कुराकानीमा श्रेष्ठले बताउनुभयो– ‘टिम त राम्रै छ। उनीहरूले एकदम मेहनत पनि गरेका छन्। परिणाम यसैले पनि सकारात्मक भएको हो।

तर हामीलाई अझै राम्रा खेलाडीको आवश्यक रहेको छ।’ अहिले प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता हुँदै छ। सो प्रतियोगितामा यदि राम्रो खेलाडी भेटाएमा हामीले टोलीमा राख्ने लक्ष्य राखेका छौं। अबको चुनौती कठिन रहेको पनि श्रेष्ठले बताउनुभयो। श्रेष्ठले थप्नुभयो– ‘अर्को वर्ष आउनै लागेको छ। समय त छ। राइट विंगतिर हामीलाई समस्या रहेको छ। धेरै जसो टोलीमा राइत विंग बलियो हुन्छ। तर हाम्रो टोलीमा राइट विंगमा खेल्ने राम्रो खेलाडीको आवश्यक छ। प्रधानसेनापति कपबाट यो समस्या समाधान हुनेमा आश्वस्त छु।