यसपटक पनि नेपाल निराश भयो


नेपाल समाचारपत्र
काठमाडौं
उपाधि जित्ने लक्ष्यका साथ नेपाल प्रतियोगितामा उत्रेको थियो। गत संस्करणमा भारतसँग हारेर उपविजेतामै सीमित भएको नेपाली युवा टोलीले यसपटक पनि निराशा हात पार्नुप¥यो। ललितपुरमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलसम्म सीमित रह्यो। नेपालको हार अप्रत्यासित भएको थियो। पहिलो हाफसम्म गोलरहित बराबरीमा रहेको खेलमा दोस्रो हाफमा एकाएक नेपालले एकपछि अर्को गोल खायो। नेपालले पाकिस्तानसँग ४–० गोलअन्तरको नराम्रो हार बेहोरेको हो।

योसँगै नेपालको उपाधि जित्ने लक्ष्य पनि समाप्त भयो। शारीरिक रूपमा नेपालभन्दा बलियो देखिएको पाकिस्तानी खेलाडीले दोस्रो हाफमा अपत्यारिलो ढंगले गोल गरेको थियो। त्यसो त पाकिस्तानले समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारतलाई समेत स्तब्ध तुल्याएको थियो। नेपाल भने समूह चरणमा बंगलादेशसँग पराजित भएको थियो।

पाकिस्तानले ५४औं मिनेटमा जान लिम्बूको आत्मघाती गोलसँगै अग्रता लिएको थियो। जानले पाकिस्तानी खेलाडीले गरेको क्रस क्लियर गर्न खोजे तर बलले आफ्नै जाली छुन पुगेको थियो। योसँगै नेपालको दुर्दशा शुरू भयो। यसपछि अर्को गोलको कारक पनि जान नै बने। उनले पाकिस्तानका खेलाडीलाई आफ्नै डिबक्समा लडाएपछि नेपालले पेनाल्टीमा गोल आत्मसात गरेको थियो। मोहम्मद उल्लाहले सो गोल गरेका थिए। ६९औं मिनेटमा पुनः अर्को पेनाल्टी प्राप्त गर्दै पाकिस्तानका लागि उल्लाहले नै गोल गरे। ७७औं मिनेटमा मोइन अहमदले थप गोल गरेपछि आयोजक नेपाल निराश हुनुप¥यो।

यसअघिको सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई हराएको थियो। पेनाल्टी सुटआउटमा ४–२ ले हराएर बंगलादशले उपाधि भिडन्त पक्का गरेको हो। प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ। नेपालले त्यही दिन भारतसँग तेस्रो स्थानका लागि भिड्नेछ।