वीरविक्रम–२ को घोषणामै ट्रेलरको झल्को

0
Shares

कार्यक्रम थियो फिल्म वीरविक्रम–२ घोषणाकोे। सञ्चालक नरेश भट्टराईले चिरपरिचित कलाकारको आगमन हुन लागेको भन्दै सबैलाई पछाडि फर्केर हेर्न आग्रह गर्दा ब्यान्ड बाजाको नाचदेउ मैच्याङ तिमी डम्फुको तालैमा गीतको धुनसहित नाच्दै याकको प्रवेश हुन्छ। त्यसपछि लगातार नायिका वर्षा सिवाकोटी, अभिनेताद्वय आकाश श्रेष्ठ र नाजिर हुसेन, नवकलाकार विनिष भाण्डारी र बाल कलाकार मनिष लिम्बु ब्यान्ड बाजाको मंगल धुनसँगै कार्यक्रमस्थल प्रवेश गर्छन्। भट्टराईले बाघबहादुर थकाली उर्फ टाइगर भन्दै अर्का कलाकार बोलाउँछन्। ती कलाकार चर्को ब्याकग्राउन्ड म्युजिकसहित बाघको मुकुन्डो लगाएर आउँदा सबैमा कौतुलहता जाग्छ को हो यो? ती कलाकारले जसै बाघको मुकुन्डो उतार्छन्, देखिन्छन् हास्य कलाकार बुद्धि तामाङ।

बिहीबार राजधानीमा आयोजित फिल्म वीरविक्रम–२ को घोषणा कार्यक्रममै यसरी ट्रेलरको झल्को पाइयो। फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले वीरविक्रम–२ मा याकको महत्वपूर्ण भूमिका हुने जानकारी गराए। ‘वीरविक्रम मेरो प्राण भएकाले यो फिल्मको नाम वीरविक्रम–२ राखिएको हो। तर, यो सिक्वेल भने होइन। वीरविक्रम जस्तै यो पनि फरक खालको दोस्तीयारीको कथा हो।’ –उनले भने।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले हाल फिल्म क्षेत्रमा निकै प्रतिस्पर्धा भएको र मिलन चाम्सले राम्रा कलाकारलाई लिएर स्तरीय फिल्म बनाउने भएकाले नै उनले सफलता हात पार्दै गएको चर्चा गरे। कार्यक्रममा बोल्दै नायिका वर्षा सिवाकोटीले आफू एक सफल फिल्ममा महत्वपूर्ण भूमिकामा अभिनय गर्न पाउँदा निकै खुसी लागेको बताइन्। नायक आकाश श्रेष्ठले दर्शकको माया र साथ पाए नेपाली फिल्म क्षेत्रलाई अझै माथि उठाउनु आफ्नो कर्तव्य ठानेर काम गर्ने बताए।

नाजिर हुसेनले वीरविक्रम–२ मा पनि हुन पाउँदा निकै खुसी लागेको तथा नयाँ कथा र चरित्रसँग आए पनि पुराना यादहरू ताजा रहेको बताए। नवकलाकार बिनिशा भण्डारीले फिल्ममा काम गर्नका लागि निकै उत्साहित भएको बताइन्। बाल कलाकार मनिष लिम्बुले फिल्मबाट दर्शकको साथ र हौसला पाउने विश्वास व्यक्त गरे।

चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्माणाधीन फिल्म कात्तिक २६ गतेबाट छायांकनमा जाने चाम्सले बताए। फिल्मको प्रदर्शन तिमी भने नयाँ वर्षलाई तोकिएको छ। फिल्मका अन्य कलाकारहरू विजय लामा, क्षितीज सुवेदी, शिशिर राणा, क्षितीज सुवेदी, सुवहाङ लिम्बु र मनोज केसी रहेका छन्।

फिल्मका सहनिर्माता अर्पण सापकोटा रहेका छन् भने फिल्मको कथा तथा पटकथा प्रदीप भारद्वाज, संगीत रनजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, गीत तुलसी घिमिे, कुशुम गजमेर र नरेश भट्टराई, गायन राजेशपायल राई, राजनराज सिवाकोटी, मेलिना राई, दीपा लामा, मेमोरी लावती र ताराप्रकाश लिम्बुको रहेको छ। फिल्ममा कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, द्वन्द्व हिमाल केसी, छायांकन निर्देशन सुदीप बराल र सम्पादन बनिष शाहको रहनेछ।