सर्ट फिल्ममा कालसँगको भेट


पछिल्लो समय फरक किसिमका गीतसंगीत रचना र त्यसको भिडियो निर्माण गर्दै आएका गीतकार मनिष वशिष्ठ छोटो फिल्म काल मेरो साथी लिएर आएका छन्। पछिल्लो समय पखेटा र मुखौटाजस्ता फरक शैलीका गीतपछि उनी यो सर्ट फिल्म लिएर आएका हुन्।

यसमा रंगकर्मी जीवन भट्टराई र दीपेन्द्र शाहीको अभिनय रहेको छ। फिल्मको कथाअनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन्। यसको लेखनमा मनिषलाई रंगकर्मी लक्ष्मी बर्देवाले साथ दिएकी छिन् भने ब्याकग्राउन्ड स्कोर ऋदम कँडेलको रहेको छ। यसलाई ज्ञानेन्द्र शर्माले छायांकन र रूपेश खड्काले सम्पादन गरेका छन् भने निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडियो हुँदै फिल्मसमेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथक शैलीमा निर्माण गरेको दाबी गरेका छन्। फिल्ममा कालसँगको भेटलाई देखाइएको छ। असन्तुष्ट कविले जीवनको उत्तराद्र्धमा भए पनि काललाई भेटेर रचना गर्ने कविता र कालप्रतिको मानसिकतालाई भिडियोमा बिम्बका रूपमा चित्रण गरिएको छ। निकेश सर्ट फिल्ममार्फत निकै आशावादी छन्।

‘म्युजिक भिडियोभन्दा केही फरक गर्ने प्रयास हो यो सर्ट फिल्म। मैले धेरै भिडियोको निर्देशन गरेँ तर यो टिमसँग काम गर्दाको मजा अर्कै थियो’, निकेश भन्छन्– ‘हामीले परिस्थितिलाई सिम्बोलिकरूपमा देखाउने कोसिस गरेका छौं। भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आशावादी छु।’

मनिषले सुरुआतमा गीत मात्र बनाउने सोच आए पनि पछि सर्ट फिल्मको रूप लिएको बताए। ‘मेरो रचनामा तयार भएका अघिल्ला गीतहरू फरक नै छन्, जसलाई मैले युट्युब एमबी क्रियसनमार्फत ल्याएको छु। दर्शकबाट आउने प्रतिक्रियाले हामीलाई अगाडि बढ्न अझै हौसला मिल्छ भन्ने मार्गदर्शन पनि पाइन्छ’ –उनले भने।