चितवन र विराटनगरको पहिलो जित


विजय नेपाली, पोखरा
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटअन्तर्गत बुधबार चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेका छन् ।

उक्त जितसंगै चितवन लिग तालिकाको चौथौँ स्थानमा उक्लियो भने विराटनगर तालिकाको अन्तिम स्थानमै कायमै छ । पोखरा रंगशालामा भएको खेलमा चितवनले एक्सपर्ट धनगढीमाथि १ सय २६ रनको फराकिलो जित निकालेको थियो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदैँ १ सय ९३ रन बनाएको थियो । एक सय ९४ रनका लक्ष्य पाएकोे धनगढी १६ ओभरमा ६७ रन बनाएर अल आउट हुन पुग्यो ।

चितवनको लागि ओपनर हरिशंकर साहले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन जोडे । अर्का ओपनर अनिल साहले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिएका थिए । टोली कप्तान पारस खड्काले ९ बलमा ४ चौका प्रहार गरी १९ रन बनाउदै आउट भएका थिए । समित पटेलले २४, सन्नि पटेलले २६, करण केसीले ११ रन बनाए भने आरिफ सेख शुन्यमा आउट भए । धनगढीका बलरमा कप्तान दिपेन्द्र ऐरी, योगेनद्र सिंह कार्की, मञ्जित श्रेष्ठ, कमल सिंह ऐरी र ड्यानियल लरेनसले समान १–१ विकेट लिएका थिए ।

खराव शुरुवात गरेको धनगढीका ओपनर दिलिप नाथ र ड्यानियल लरेनस छिटै पेलिभियन फर्किएका थिए । त्यस्तै तेस्रो व्याटस्म्यानका रुपमा मैदान आएका पिटर टेगोरले सर्वाधिक २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोड्नु बाहेक सन्दिप जोहरले ८, सौरभ खनालले ८, मञ्जित श्रेष्ठले २, सन्दिप सुनार र कप्तान दिपेन्द्र सिंह ऐरैले समान १–१ रन मात्रै बनाउन सके । म्यान अफ दी म्याच चितवन राइनोजका सन्नि पटेल घोषित भए उनले नगद दश हजार रुपैयाँका साथै ट्रफि हात पारे ।

बुटवल पराजित
दोस्रो खेलमा विराटनगरले निकै बलियो मानेको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पाएको बुटवलले ८ विकेट गुमाउदै १ सय २८ रनमा समेटिएको थियो । विराटनगरका लागि अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा किशोर महतोले निकै उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए । उनले समग्रमा ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । बुटवलका लागि भीम सार्कीले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । ओपनर सागर पुन ३३ बलमा २९ रन जोड्दै आउट भए । शंकर राना २३ रनमा सन्दीप लामिछानेबाट बोल्ड आउट भए । चिराग सुरी र प्रकाश केसी शुन्यमा आउट भए ।

रोहन मुस्ताफा १ रनमा,सोमपाल ७ रनमा आउट भए । विराटनगरका कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २, सुनिल धमला र साहब आलमले १–१ विकेट लिए ।

त्यस्तौ बिराटनगरका लागि मोहम्मद जायद आलमले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । प्रदीप ऐरीले ४३ बलमा ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । ऐरी र मोहम्मदले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । विराटनगरका मोहमद जायद आलम खेलको म्यान अफ दी घोषित भए । उनले दश हजार रुपैयाको साथमा ट्रफि प्राप्त गरे ।

तिन खेल खेलेको बुटवल २ जित र एक हारसहित ४ अंकका साथ अंकतालिकाको शिर्ष स्थानमा रहेको छ । समान ३ खेल खेलेको पोखरा पल्टन ४ अंकका साथ दोस्रो स्थानमा छ भने पोखरा २ जितसहित ४ अंक रहेको छ । काठमाण्डौँ रोयल्स चार अंकका साथ नेट रन रेटको आधारमा तेस्रो स्थानमा रहेको छ । तिन खेल खेलेको चितवन राइनोज १ जित तथा २ हार व्यहोरी २ अंकका साथ चौथौ स्थानमा रहेको छ । समान खेल खेलेको एक्सपर्ट धनगढी रन रेटको आधारमा तालिकाको पाचौँ स्थानमा रहेको छ ।