चुलिँदो राजनीतिक संकट


दक्षिण एसियामा रहेका साना र गरिब मुलुकहरुमाथि एसियाका दुई विशाल चीन र भारतले एक–आपसमा प्रभुत्व कायम राख्न लालायित भएपछि दक्षिण एसियाभर नै अस्थिरता बढ्न थालेको छ । दक्षिण एसियाको बादसाह भएको दाबी गर्ने भारतले नेपाल, भूटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानमाथि विभिन्न कोणबाट आफ्नो प्रभुत्व कायमै राख्न लागिपरेको छ भने विश्व अर्थतन्त्रमा कब्जा जमाउने तयारीमा रहेको चीनले दक्षिण एसियामा बिस्तारै आफ्नो प्रभुत्व विस्तार गर्ने क्रममा रहेको छ । यी दुई ठूला मुलुकले दक्षिण एसियाली मुलुकमा आन्तरिकरुपमा हस्तक्षेप गर्न थालेपछि चरम राजनीतिक संटक देखा पर्न थालेको छ ।

भारतको निकट रहेको भूटानमा समेत चिनिया प्रभाव बढेपछि भारत चिन्तित मात्र भएको छैन, त्यहाँ चिनिया प्रभावलाई अस्वीकार गर्न उसले खेलेको भूमिका बिस्तारै असफल हुँदै गएको छ । भूटानमा हालै सम्पन्न भएको संसदीय निर्वाचनमा भारतीय कोटरीमा रहेका छिरिङ तोब्बेको पार्टी नराम्रोसँग पराजित भएको छ । अहिले चीनसँग नजिक रहेको पार्टी बहुमतको नजिक पुगेको छ । नेपालमा पनि यहाँ सम्पन्न निर्वाचनमा भारत परस्त भनेर चिनिएको नेपाली कांग्रेस नराम्रोसँग पराजित भएको छ । नेपालमा आफ्नो अनुकूलको सरकार आएको भन्दै चीनले आफ्नो प्रभुत्व कायम राख्न नेपालका सत्तापक्षका नेता–कार्यकर्तालाई चीन भ्रमण गराउने चीनका उच्च तहका नेता तथा सरकारी अधिकारीको बाक्लोरुपमा नेपाल आउने क्रम बढेको छ ।

यता श्रीलंकामा अहिले राजनीतिक संकटको कारण भारत विरोधी भनेर चिनिएका महेन्द्रा राजापाक्षे प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् । पाकिस्तान र भारतबीचको लामो समयदेखिको दुश्मनीको फाइदा उठाउँदै चीनले पाकिस्तानमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको देखिन्छ भने पाकिस्तानको खातिरदारी गर्दै छ । पाकिस्तान अहिले चीनसँग हरेक कुरामा सहकार्य गर्दै आएको छ । दुई ठूला मुलुकले माल्दिभ्समा पनि आफ्नो प्रभुत्वलाई विस्तार गरेका छन् । हालै सम्पन्न त्यहाँको निर्वाचनमा चीन विरोधी समूह विजयी भए पनि त्यहाँ राजनीतिक अस्थिरता भने बढ्दो अवस्थामा रहेको छ । यसै गरी बंगलादेश पनि गतवर्ष चीनबाट ठूलो नगद सहयोग पाएपछि चीनतर्फ निकट भएको देखिन्छ ।

उता अफगानिस्तान आफैं द्वन्द्वको भूमरीमा परेको छ । तर पनि चीन र भारत एक–आपसमा त्यहाँ स्थापित हुने कोशिशमा छन् । यी दुई ठूला मुलुकका कारण दक्षिण एसियामा राजनीतिक संकट भने चुलिँदो अवस्थामा छ । नेपालमा दुई तिहाइको सरकार भए पनि सरकारले अहिलेसम्म जनताको मन जित्ने काम गर्न सकेको छैन । केही नयाँ काम गर्न खोज्यो भने अनेक बाधा व्यवधानको सामना गर्नुपर्ने अवस्था देखिएको छ । साना र गरिब मुलुकलाई फुटबल मैदान बनाउने चीन र भारतको रबैया फेरिएन भने दक्षिण एसियाका गरिब र साना मुलुक द्वन्द्वको भूमरीमा फस्ने निश्चितप्रायः छ ।