एल क्लासिकोमा बार्सिलोना विजयी


लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाको सर्वाधिक चर्चित म्याच एल क्लासिकोमा बार्सिलोनाले सहज जित आत्मसात गरेको छ ।

आइतबार राति भएको सो खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदान नोउ क्याम्पमा अर्काे महारथी रियल मेड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो । हात भाँचेका कारण लियोनल मेसी र युभेन्टस आबद्ध भएका क्रिस्टियानो रोनाल्डोविना यसपटक एल क्लासिको खेल भयो । मेसी दर्शक बनेको सो खेलमा बार्सिलोनालाई शानदार जित दिलाउन लुइस स्वारेजले ह्याट्रिक गरेका थिए । यस्तै एक–एक गोल फिलिप कौटिन्हो र अर्टुरो भिडालको नाममा रह्यो ।

कौटिन्होले खेलको ११ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा स्वारेजको पेनाल्टी गोलमार्फत् अग्रता दोब्बर भएको थियो । सुरुमा राफेएल भरानेले स्वारेजमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर भिजुएल एसिस्टेन्ट रेफ्री (भार) को प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी प्राप्त गरेको थियो ।

पहिलो हाफसम्म २–० ले पछि परेको रियलले खेलको ५०औं मिनेटमा मार्सेलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएका थिए । तर बार्सिलोनाले थप तीन गोल गरेपछि रियलको केहि लागेन । स्वारेजले खेलको ७५औं र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै मैदानमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेको तीन मिनेट नबित्दै आर्टुरो भिडालले पनि हेडमार्फत् गोल गरेपछि बार्सिलोनाको गोलसंख्या पाँच पुग्यो ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएको अन्य खेलमा सेभियाले हुएस्कालाई तथा अलाभेजले भिया रियललाई समान २–१ ले हराउँदा गेटाफेले रियल बेटिसमाथि २–० को जित हासिल ग¥यो । आइतबारको खेलपछि १० खेलबाट २१ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।