नेपालको सामना पाकिस्तानसँग हुने


नेपाल समाचारपत्र, काठमाडौं
नेपालले ललितपुरमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार हुने सेमिफाइनल खेलमा पाकिस्तानसँग खेल्ने तय गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा भवनको खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको थियो । समूह ए को उक्त खेलमा नेपाललाई १० खेलाडीमा सिमित बंगलादेसले २–१ ले निरास गरेको थियो ।

योसँगै नेपालले समूह उप विजेता र बंगलादेस समूह विजेता बने । समूह बी तर्फ पाकिस्तान समूह विजेता र भारत उपविजेता भएका छन् ।

बंगलादेसले नेपाली डिफेन्स सम्हालिन नपाउँदै खेलको दोस्रो मिनेटमै गोल गरेर घरेलु टोलीलाई दवावमा राखेको थियो । मोहम्मद आहाद सकिलले गोल गरेका थिए । ३६औं मिनेटमा जान लिम्बुले पेनाल्टी किक सदुपयोग गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । बंगलादेसका गोलकिपर मितुल मार्माले राकेश विश्वकर्मालाई पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो । तर यो फाउलमा गोलकिपर मार्मा रातो कार्ड खाँदै बाहिरिए र पाहुना टोली १० खेलाडीमा सीमित भयो ।

एक खेलाडीको कमी बावजुद यसको फाइदा नेपाली खेलाडीले उठाउन सकेन । उल्टो ४६औं मिनेटमा अर्को गोल आत्मसात गर्न पुग्यो । मोहम्मद पाजान हवलादरको उक्त गोलले नेपाल २–१ ले पछि परेको थियो । यसपछि दुबै तर्फबाट गोलको प्रयास भयो तर गोल भने हुन नसक्दा नेपालले हार खेप्नु परेको थियो ।

नेपाली प्रशिक्षक सनोज श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा पराजित भएको बताए । उनले बताए–१० खेलाडीको फाइदा हामीले उठाउन सकेनौं । हामीले बंगलादेसलाई पटक पटक समस्यामा पा¥यौ । मौका पनि आएको थियो तर त्यसलाई सदुपयोग गर्न सकेनौ ।

क्याप्सनः जान लिम्बुले पेनाल्टी गोल गरेपछि रमाउँदै नेपाली खेलाडीहरु । तस्वीरः उजोल डंगोल