नेपालद्वारा गोलवर्षा


नेपाल समाचारपत्र, काठमाडौं
एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि ९ गोल बर्षाएको छ ।

थाइल्यान्डको चोनबुरी रंगशालामा भएको सो खेलको पहिलो हाफमा मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । खेलको ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म नेपाललाई ३–० को अग्रता दिलाइन् ।

यस्तै खेलको ४८औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत चौथो गोल गरिन् । त्यसको केहि मिनेटमै पुजाले पाँचौ अर्को गोल थपिन् । खेलको ५७ औं मिनेटमा निशा थोकरले नेपालको गोलसंख्या आधा दर्जन पु¥याइन् । यसैगरी ७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७–० को अग्रता दिलाइन् । निशाले नै ८५औं मिनेटमा ब्यक्तिगत गोल गर्दै नेपालको लागि आठौ गोल गरिन् । यस्तै कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै नेपालको जित ९–० ले सुनिश्चित गरिन् ।

जितसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । यसै समूहको अर्को खेलमा भारतले थाइल्याण्डलाई १–० ले पराजित गरेपनि हेड टू हेडको आधारमा नेपालले समूहको दोस्रो स्थान हासिल गर्दै अर्को चरणमा प्रवेश पाएको हो । भारतसँग पराजित भएको थाइल्याण्डले पनि समूह विजेताको रुपमा अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।