मोरङका सबै खोला ठेक्कामा ३३ करोड आम्दानी गर्ने लक्ष्य


नेपाल समाचारपत्र, विराटनगर
स्थानीय तहमा अधिकार आएपछि पहिलोपटक मोरङका खोलानालाबाट नदीजन्य स्रोत उत्खनन् तथा बिक्रीको ठेक्का लागेको छ । विभिन्न नगर तथा गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेका खोलाबाट यो वर्ष २७ लाख घनमिटर नदीजन्य स्रोत उत्खनन् तथा बिक्री वितरण गर्ने अनुमति दिइएको छ ।

वातावरणीय प्रभाव मँल्यांकन गरेर जिल्ला समन्वय समितिबाट स्वीकृत गराएको परिमाणमा आधारित रहेर स्थानीय तहले खोला ठेक्का लगाएका छन् । यो वर्ष नदीजन्य स्रोत उत्खनन् तथा बिक्रीबाट ३३ करोड रुपियाँ आम्दानी हुने देखिएको छ । ठेक्का स्वीकृत रकम करिब ३६ करोड ५८ लाख रुपियाँ रहेकोमा १० प्रतिशत छुट हुने हुँदा ३३ करोड रुपियाँ स्थानीय तहलाई आम्दानी हुने देखिएको हो ।

मोरङको केराबारी गाउँपालिकाले नदीजन्य स्रोत बिक्री गरेर सबैभन्दा धेरै रकम प्राप्त गर्ने भएको छ । उसले आफँ मातहतका खदम, भलुवा, लोहन्द्रा, हुरहुरे, मुगु र डाले खोलाबाट ९ लाख ५९ हजार घन मिटर स्रोत उत्खनन् गर्ने अनुमति पाएको छ ।

केराबारीले ११ करोड रुपियाँमा ठेक्का लगाइसकेको छ । यो वर्ष मिक्लाजुङको सोल्टी, सफेवा, मावा, बक्राहा, तेली, र साखरे खोलाबाट २ लाख ३० हजार घन मिटर स्रोत उत्खनन् गर्न ६ करोड ४० लाख रुपियाँमा ठेक्का लागेको छ । नदीजन्य स्रोत उत्खनन्बाट धेरै आम्दानी गर्नेमा मिक्लाजुङ नगरपालिका सँचीकृत भएको छ ।

यस्तै लेटाङ नगरपालिकाले चिसाङ र तेली खोलाबाट ४ लाख ३६ हजार घन मिटर वनजन्य स्रोत उत्खनन् गर्न ४ करोड ७ लाख रुपियाँमा ठेक्का लगाएको छ भने सुन्दर हरैंचा नगरपालिकाले २ लाख ७१ हजार ८ सय ७७ घन मिटर स्रोत उत्खनन् गरी बिक्री गर्न ४ करोड २० लाख रुपियाँमा ठेक्का लगाएको छ ।

उर्लाबारी नगरपालिकाले ३ करोड ५६ लाख रुपियाँमा विभिन्न ६ वटा खोलाबाट उत्खनन्को अनुमति दिएको छ । पथरी नगरपालिकाले डास खोला र सुनझोडा खोलाबाट २ लाख ७१ हजार घन मिटर ढुंगागिट्टी उत्खनन् गरेर बिक्री गर्नेछ । त्यसका लागि १ करोड २३ लाख रुपियाँमा ठेक्का लागेको नगरपालिकाले जानकारी दिएको छ ।

बेलवारी नगरपालिकाले चिसाङ र लोहन्द्रा खोलाबाट १ लाख ७४ हजार ४ सय ३२ घन मिटर स्रोत उत्खनन् गर्न २ करोड ८७ लाख रुपियाँमा ठेक्का लगाएको छ । मोरङको कानेपोखरी गाउँपालिकाले १ लाख ७३ हजार घनमिटर स्रोत उत्खनन् गर्न ३ करोड २५ लाख रुपियाँमा ठेक्का लगाएको छ ।

अघिल्लो वर्ष १३ लाख ६५ हजार घन मिटर नदीजन्य स्रोत उत्खनन् गरेको मोरङका खोलाबाट यो वर्ष दोब्बर परिमाणमा स्रोत उत्खनन् हुने छन् । प्रभावकारी नियमन तथा अनुगमन र कारवाहीको व्यवस्था नहुँदा नदीजन्य स्रोत उत्खनन्मा चरम लापरबाही र बलमिच्याँई हुँदै आएको छ ।