अझै बनेन लार्के र यांग्रीको अन्तिम डिपिआर


नेपाल समाचारपत्र, काठमाडौं ।
लार्के र यांग्री खोलाको पानी काठमाडाँैमा उपत्यकामा ल्याउने तयारी थालेको बताइए पनि त्यससम्बधी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै पूरा हुन सकेको छैन ।

उक्त परियोजनाको डिपिआर तयार पार्ने जिम्मा लिएको स्पेनी परामर्शदाता इप्टिसाले तोकिएको मितिमा डिपिआर नबुझाएपछि मेलम्ची खानेपानी आयोजनाले डिपिआर बुझाउन पत्राचार गरेको छ ।

मेलम्ची विकास समितिले सुरुङ मार्ग हुँदै दुबै खोलाको पानी दैनिक १७÷१७ करोड गरी ३४ करोड लिटर ल्याइने दावी गरेको छ ।

इप्टिसाले सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्म सम्पन्न गर्ने गरी डिपिआरको काम थालेको थियो । तर निर्धारित समयभित्र तयार नभएपछि त्यसको म्याद ६ महिना थप गरिएको थियो ।

‘डिपिआरको अन्तिम मस्यौदामा प्रतिक्रिया दिइसकेका छौँ । अन्तिम प्रतिवेदन छिटो बुझाउनु भनेका छौँ ।,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले भन्नुभयो ।

परामर्शदाताले तयार पारेको डिपिआरको प्रारम्भिक मस्यौदामाथि डेढ महिनाअघि भएको थियो । छलफलमा आयोजना, मन्त्रालय र एसियाली विकास बैंक (एडिबि) का अधिकारीहरु र विज्ञले महत्वपूर्ण सुझाबहरु दिएका थिए ।

एडिबीले सुरुङ मार्ग निर्माणमा नयाँ प्रविधि अपनाउन सुझाब दिएको थियो । एडिबीको सुझाव समेट्न लागेकाले डिपिआरको अन्तिम मस्यौदा नआएको हुनसक्ने इन्जिनियर पन्तले अड्काल काट्नुभयो ।

यांग्री खोलाबाट मेलम्ची खोलामा पानी खसाल्न ९ किलोमिटर सुरुङ र लार्के खोलाबाट यांग्रीमा पानी खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

यी दुई सुरुङ टनेल बोरिङ मेसिनमार्फत खन्दा काम छिटो सम्पन्न हुने देखेर एडिबिले यस्तो सुझाव दिएको उहाँले बताउनुभयो । मेलम्चीको २७ किमि सुरुङ ड्रिल एण्ड ब्लास्ट प्रविधिबाट खनिएको थियो । यो प्रविधिको विकल्पमा छिटो सुरुङ खन्न टनेल बोरिङ मेसिन प्रयोग उचित मानिएकोले त्यसतर्फ ध्यान दिन विज्ञले सुझाएको बताइन्छ ।