नेकपाको चियापानः पार्टी एकीकरण जस्तै अव्यवस्थित


मधूसुदन रायमाझी, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना ग¥यो ।

काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्तव्यस्त देखिएको थियो । उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो । लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरु बीचबाटै बाहिरिएका थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

कार्यक्रमस्थलमा शौचालयको राम्रो व्यवस्था नभएकाले नेता तथा कार्यकर्ताहरु खुल्ला क्षेत्रमा शौच गर्न बाध्य भएका थिए । ५० हजारलाई निमन्त्रणा दिइएको भनिए पनि चियापानमा २५ हजार जति मात्र उपस्थित भएको आयोजकको भनाइ छ ।

पार्टी एकीकरण व्यवस्थित नभए जस्तै कार्यक्रमस्थलको व्यवस्थापन पनि सशक्त देखिएको थिएन । पार्टी एकीकरण भएपछि पहिलोपटक आयोजित चियापानमा नेता तथा कार्यकर्ताको संस्कार समेत परिवर्तन भएको देखियो ।

विगतमा लालसलाम भन्दै प्रस्तुत हुनेहरुलाई यसपालि नमस्कार भन्न भ्याइनभ्याई थियो । शीर्ष नेताहरुले विगतमा झैँ नेता तथा कार्यकर्तासँग हात मिलाएको देखिएन । विगतमा पूर्वमाओवादी केन्द्रद्वारा भृकुटीमण्डमै आयोजित चियापानमा एकजनाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गालामा थप्ड हानेका थिए । सुरक्षाको कारण देखाउँदै यसपटक विशिष्ट पाहुनाहरुसँग मात्र शीर्ष नेताले हात मिलाउने कार्यक्रम बनाइएको थियो ।

चियापनमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कूटनीतिक, कलाकारलगायतको सहभागीता रहेको थियो । शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको चियापानमा बस्ने ठाउँको अभावमा नेता तथा कार्यकर्ता भौंतारिदै बाहिरिएका थिए । मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्टयाएको थियो भने ३ देखि ५ बजेसम्म उच्च पदस्थ व्यक्तिका लागि समय छुट्टयाएको थियो । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी लामो समय शीर्ष नेताहरुसँगै बस्नुभएको थियो ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि चियापानमा अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । उहाँले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभयो ।

नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउँदै अध्यक्ष प्रचण्डले एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने नेपालको मौलिक सांस्कृतिक विविधता रहेको बताउनुभयो । उहाँले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको दाबी गर्नुभयो ।

महासचिव विष्णु पौडेलले चियापान शुभकामना आदानप्रदानमा केन्द्रीत भएकाले राजनीतिक रुपमा लिन नहुने बताउँदै भन्नुभयो– ‘एकता सद्भावको सन्देश प्रवाह गर्न हामी नेपालीहरु चलिरहेको सद्भाव र सहिष्णुता चाहन्छौ, एकआपसमा मिलेर अगाडि बढन चाहन्छौँ भन्ने सन्देश दिन यो आयोजना गरिएको हो ।’

नेकपाको चियापानमा जे देखियो
-कार्यकर्ता घण्टौं लाइनमा
-लालसलामको सट्टा नमस्कार
-२० हजारलाई मात्रै नास्ताको व्यवस्था
– २५ हजारभन्दा बढी सहभागी भएको दाबी
-खुला क्षेत्रमा नै शौच
-चियापानस्थलमा पर्चा छरिएपछि कुटाकुट
-बोतामा खानेकुरा– चिया, कचौरी, निम्की, केरा
– ओली अनुस्थित हुँदा कार्यकर्तामा निराशा
-मेलमिलाप सत्तापक्षको जिम्मामा ः देउवा
-सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत बनाउदै आएको छ ः प्रचण्ड
-थप्पड काण्डले विशिष्ट शीर्ष नेतासँग कार्यकर्ताले हात मिलाउन पाएनन्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको प्रतिक्रिया दिनुभयो ।

चियापानमा पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापालगायतका नेता जानुभएको थियो । चीन भ्रमणमा रहेकाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेल जानुभएको थिएन ।

कार्यक्रमस्थल भृकुटीमण्डमा केहीबेर तनाव भएको थियो । चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालेपछि तनाव भएको हो । केही समय नेकपा पक्षधर कार्यकर्ता र पर्चा बाँडनेहरुबीच भनाभन भएपछि प्रहरीले नियन्त्रण लिई तनाव हटाएको थियो ।

पर्चा वितरण गर्ने पक्षले ५ बुँदे माग अघि सारेको थियो । उनीहरूले समानताको आधारमा एकता गरिनुपर्ने, विप्लव, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका कम्युनिष्ट पार्टीलाई पनि एकतामा ल्याइनुपर्ने, तत्कालिन नेकपा माओवादीको तर्फबाट नातावाद र कृपावादका आधारमा नेकपाको केन्द्रीय सदस्य बनेकाले त्यसलाई विघटन गरेर नयाँ केन्द्रीय समिति बनाइनुपर्ने, नागरिकको जनजिविकाको सवालमा पार्टीले तत्काल पहलकदमी लिनुपर्नेलगायतका राखेका थिए ।

कुन कुन वरिष्ठ गएनन् ?

नेकपाको चिपापान कार्यक्रममा पार्टीकै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा वली सहित अन्य दलका शीर्ष नेताहरु सहभागी भएनन् । सवै दलका नेतालाई आमन्त्रण गरिए पनि चियापान कार्यक्रममा सहभागिता जनाएनन् ।
चिकित्सकले भीडभाडमा नजान सल्लाह दिएकाले र रुघाखोकी, ज्वरो र भाइरलबाट ग्रसित भएकाले ओली नजानु भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओबादीका महासचिव मोहन वैद्य, विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी जानुभएन ।

यद्यपि संयोजक भट्टराईले ट्वीटरमा लेख्नुभएको छ– ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद । तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरिब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ, जय होस् ।’