आर्सेनलको लगातार तेस्रो जित

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब आर्सेनलले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ।

युरोपा लिगको समूह ए मा रहेको आर्सेनलले बिहीबार राति पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई १–० गोलअन्तरले पराजित गरेको हो। आर्सेनलको कठिन जितमा वेल्बेकले निर्णायक गोल गरेका थिए।

खेलको ७७औं मिनेटमा आर्सेनलका लागि वेल्बेकले उक्त गोल गरेका थिए। त्यसअघि गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। उक्त नतिजासँगै आर्सेनलले लगातार ११औं जित दर्ता गरेको छ। अक्टोबर २००७ यता टोलीको यो उत्कृष्ट नतिजा हो। त्यसबेला आर्सेनलले लगातार १२औं जित दर्ता गर्न सफल भएको थियो। आर्सेनलले पोर्चुगलमा ६ खेलपछि जित दर्ता गरेको हो। यसअघि ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको थियो।

जितसँगै समूहको शीर्षस्थानमा रहेको आर्सेनलको ३ खेलबाट ९ अंक भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको स्पोर्टिङको ६ अंक रहेको छ भने तेस्रोमा रहेको भोर्सक्लाको ३ खेलबाट ३ अंक छ।

यस्तै बिहीबारै भएको अर्को खेलमा स्पेनिस क्लब सेभियाले खिसार्सपारलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। खेलको सातौं मिनेटमा रोके मेसाको गोलमार्फत् सेभियाले गोलको खाता खोलेको थियो। त्यस लगत्तै सेभियाले प्राप्त गरेको पेनाल्टीमा पाब्लो सराबियाले गोल गर्दै अग्रता दोब्बर पारे। मिलान लुकासको आत्मघाती गोलमा सेभियाले पहिलो हाफमा ३–० को अग्रता बनायो। दोस्रो हाफमा लुइस मुरिएल, क्विन्सी प्रोमेस र ग्याब्रिएल मर्साडोले गोल गरेपछि सेभियाले आधा दर्जन गोलसंख्या पुर्याए।

प्रतियोगिताअन्तर्गत समूह ए मा लार्नाका र लुडोगोरेटस १–१ को बराबरीमा रोकिँदा ज्युरीचले बायर्न लेभरकुजनलाई ३–२ ले हरायो। समूह बी मा आरबि लेप्जिगले सेल्टिकलाई २–० तथा साल्ज्बर्गले रोजनबर्गलाई ३–० ले पराजित गरे। कोपेनहेगन घरेलु मैदानमा स्लाभिया प्रागसँग १–० ले पराजित हुँदा जेनिटले बोडर्दोलाई २–१ ले हरायो। एन्द्रेलेक्ट र फेनेरबासे २–२ को बराबरमा रोकिंदा डिनामो जाग्रेडले स्पार्टाक ट्रानाभालाई २–१ ले हरायो। काराबाग घरेलु मैदानमा भोर्सक्लासँग १–० ले हार्दा लिस्बनले पनि आर्सेनलसँग सोही गोलअन्तरले नतिजा सुम्पियो। रियल बेटिसले मिलानलाई २–१ ले हरायो भने ओलम्पियाकोसले डुडेलान्जलाई २–० ले पाखा लगायो।

यस्तै चेल्सीले बाटेलाई ३–१ तथा भिडीले पिओकलाई २–० ले हराए। स्कटल्यान्डको रेन्जर्स र रसियाको स्पार्टाक मस्को गोलरहित बराबरीमा रोकिँदा भिया रियलले रापिड वेनलाई ५–० ले हरायो। फ्रान्कफर्टले लिमासोललाई २–० ले तथा लाजियोले मार्सेलाई ३–१ ले हराए। जेन्कले बेसिक्तासलाई ४–२ ले हराउँदा साप्र्सबोर्ग र माल्मो १–१ को बराबरीमा रोकिए। स्टान्डर्ड लिएजले क्राजोन्डारलाई २–१ ले हराउंदा जब्लोनेक र अस्ताना १–१ को बराबरीमा रोकिए। यस्तै डिनामो किएभले रेन्नेसलाई २–१ ले पराजित गरे।