वर्षेनी थपिन थाले छुर्पी उद्योग

0
Shares

गणेश घिमिरे, इलाम

देश विदेशमा छुर्पीको माग बढ्न थालेपछि जिल्लाका विभिन्न भेगमा छुर्पी उद्योग खुल्ने क्रम बढेको छ। इलाममा वर्षेनी १५ देखि २० वटा छुर्पी उद्योग खुल्ने क्रम जारी रहेको साविक जिल्ला पशुसेवा कार्यालयको तथ्यांक छ।

हाल जिल्लामा एकसय २० भन्दा बढी छुर्पी उद्योग सञ्चालनमा छन्। यहाँका कुल १० स्थानीय तहमध्ये सबैभन्दा उद्योग देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकामा रहेका छन्। व्यावसायिक पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै यस्ता उद्योगको संख्या थपिन थालेको हो।

जिल्लाका सबै भेगमा बाह्रैमास यातायात सञ्चालन हुन नसक्दा दुर्गम भेगमा निजी तथा सरकारी दुग्ध उद्योगले दूध संकलन गर्न कठिनाई भएको तत्कालीन पशुसेवा कार्यालयका प्राविधिक डिगबहादुर कार्की बताउनुहुन्छ। जिल्लामा उत्पादित छुर्पीको माग काठमाडौं, पोखरा, बुटवल, नेपालगन्जसहित अमेरिक र भारतमा पनि बढेपछि छुर्पी उद्योग खोल्ने क्रम जारी रहेको उहाँको बुझाइ छ।

छुर्पीको माग र मूल्य बढेसँगै कृषक उत्साहित बनेका छन्। फाकफोकथुम गाउँपालिकास्थित आमचोकका छुर्पी उद्योग सञ्चालक प्रेम मगरका अनुसार छुर्पीसंँगै घिउको उत्पादन पनि बढिहुने र मूल्य पनि उचित पाइने भएकाले कृषक उत्साहित छन्। उद्योग सञ्चालकहरूका अनुसार नौ लिटर दूध बराबर एककिलो छुर्पी र आधा किलो घिउ उत्पादन हुने गरेको छ। इलाममा मात्रै करिब तीन हजार घरपरिवार छुर्पी उद्योगमा आश्रित छन् भने प्रत्यक्ष÷अप्रत्यक्ष करिब चारहजारले रोजगारी पाएको लघु उद्योग प्रशिक्षक गोपाल पौड्यालले बताउनुभयो।

इलाममा गतवर्ष ६ दशमलब ७१ प्रतिशतले छुर्पी उत्पादन भएको थियो भने १० करोड ६९ लाख ८२ हजार रुपियाँ बराबरको कारोबार भएको थियो। छुर्पी प्रतिकिलो सरदर ३ सय ५० देखि ४ सय रुपियाँका दरले बिक्री हुने गरेको छ। इलाममा उत्पादित छुर्पी अमेरिकामा कुकुरको आहराका लागि माग हुन थालेपछि यस व्यवसायप्रति युवा पुस्ताको चासो झनै बढेको छ।