मोतीराम रचित पिकदूतमा प्रेम–कहानी

6.77k
Shares

केशव अधिकारी
पाली साहित्यको इतिहासमा हेर्ने हो भने युवाकवि मोतीराम भट्ट जन्मेर जति थोरै समयमात्र बाँचे त्यो थोरै बचाइकै समयलाई मानौं एक पित्को पनि नछोडी उपयोग गरेरै बाँचे। वि.सं. १९२३ को भाद्र कुशेऔंसीका दिन भोँसीको टोल काठमाडौंमा जन्मेका भट्टले १४ वर्षको कलिलो उमेरमा विवाह गरेका थिए। उनका सन्तान भने शायद जन्मेनन् होला। पछि वि.सं. १९५३ उही भाद्र कुशेऔंसीकै दिन ३० बर्से आयु पनि पूरा गर्न नपाउँदै कालले निर्दयताका साथ उनलाई लगिछाड्यो।

मोतीराम भट्ट साँचोमा खोज्ने हो भने गजलकार हुन्। उनले नेपाली साहित्यको भण्डारमा नेपाली भाषामा नै लेखेका गजलहरू दिएका छन्। त्यति छोटो कालखण्डको बचाइमा उनले गजल, कविता, कथा, समालोचना, समस्यापूर्तिका कविता आदि लेखेर उनका समकालीन साहित्यकारहरू झकझक्याउने काम गरेका छन्। भानुभक्त आचार्यको रामायण किताब मोतीरामले वनारस लगेर छापेका हुन्। त्यो रामायण गरिब, धनी, साहित्यको अध्ययनप्रति रुचि भएका सबैले किनी मट्टीतेलको टुकी बालेर मीठो स्वरमा पढ्न थाले। यतिले पनि नपुगेर मोतीरामले भानुभक्तको जीवनचरित्र नै लेखेर छपाइदिएपछिका दिनमा मात्र भानुभक्तलाई सबैले चिने।
यसरी हेर्दा मोतीराम भट्ट आफैंमा बहुमुखी प्रतिभाका धनी व्यक्तिका रूपमा चिनिन्छन्। उनैले रचना गरेको र नेपालको पुरानो साहित्यिक पत्रिका सूक्तिसिन्धुमा प्रकाशित पिकदूत नामक काव्यको विश्लेषण गर्नु यहाँ सान्दर्भिक ठान्दछु।

युवा कवि मोतीराम भट्टले रचना गरेको पिकदूत काव्य आयामका हिसाबले आफैंमा ज्यादै सूक्ष्म रहेको छ। यस काव्यमा जम्मा चार–चार हरफका ३० श्लोक मात्र छन्। यस हिसाबले गणना गर्ने हो भने यस कव्यमा जम्मा १२० हरफ वा पाउहरू रहेका छन्। यसमा एउटा चखेवाको जोडीजस्तो पे्रमीले आकाशको तारा खसलिदिऊँला भन्ने आश्वासनमा प्रेम गर्दछ।

पे्रम प्रकट भएको केही दिनपछि नै उसले पे्रमिकालाई चटक्क छोडेर परदेशतिर लाग्छ। परदेशमा ऊ धेरै समयसम्म बेखबर भएर बसेको हुनाले यता पे्रमिकाले प्रेमको अभावमा तड्पेर समय बिताउनुपरेको छ। अन्त्यमा प्रेमाभावले छट्पटाएकी पे्रमिकाले चरालाई आफ्नो दूत बनाएर आफूले पे्रमाभावमा तड्पेर भनेका सारा कुराहरू ती निष्ठुरी जहाँ बसेका भए लगेर सुनाइदिन आग्रह गर्दछिन्। प्रेमिकाले प्रेमको अभावमा तड्पेर निकालेका विलापहरू चराले आफू साँचो दूत बनेर लगी सुनाइदिन्छ। चरावाट आफ्नी प्रेमिकाको त्यो तड्पाइ सुनेर भावुक भएको पे्रमी पनि चाँडै आइपुग्छ र दुवैको मिलन भएको सुखद क्षणमा यो काव्य सकिएको छ। शिल्प सौन्दर्यका दृष्टिले हेर्ने हो भने पनि कतै प्रकृतिको मनोरम दृश्य प्रकट भएको छ भने कतै चरासँग पे्रमिकाको एकाकारसमेत गराइएको छ।

पिकदूत काव्यको शुरूमा प्रेम वा यौनेच्छाको अभावले व्याकुल भएकी एक पे्रमिकाले चरालाई सम्बोधन गर्दै यसो भन्छिन्–
ए पन्छी अब जा चटाक हुनगई सञ्चार यो भन्दिएस्
यो सञ्चार भनी दिइस् पनि भने लाख वर्षसम्मन जिएस्
यी मेरा सब हाल हेरी उडिजा मेरा जहाँ प्रण छन्
यस्मा कति फरक नपारि जति ह्याँ भन्छु भनेस् त्यो त सुन्।

पे्रमिकाले त्यसो भन्दै गर्दा कुनै एउटा चराले उनको कुरा निकै ध्यानका साथ सुन्दै थियो भन्ने कुरा परिकल्पना गर्न सकिन्छ। पृथ्वीको घुमाइसँगै विभिन्न ऋतुहरू पनि परिवर्तन भएर प्रेमको अभावमा छटपटाएकी पे्रमिकालाई अझै विचलित गराउन खोजेको प्रसंग उत्तिकै मर्मस्पर्शी छ।

केही कालसम्म प्रचण्ड ग्रीष्म ऋतुको गर्मी सह्यो अङ्गले
मन आजित हुन गो र दुःखी म भएँ त्यै गर्मीका रङ्गले
छारो उड्न गयो जसै दश दिशा साह्रै अँध्यारो भयो
एक्ली के गरुँ थर्र मन हुनगयो गर्मी पनि गैगयो।

यसरी गृष्म ऋतुको शिल्प सौन्दर्यले लपक्क भिजाएर पाठकलाई त्यसमा सहभागी गराउँदै वर्णन गरिएको छ। गृष्म ऋतुको समाप्तिपछिका दिनमा बादल गर्जेर वर्षा ऋतुको आगमन भयो। एक्ली हुनाले गर्दा मन धुकधुक भएर पापी प्रेमीलाई सम्झेको प्रसंग आउँछ। वर्षा ऋतुको बहिर्गमनसँगै प्यारो शरद ऋतुको आगमनले आकाशको चन्द्रमा र धर्तीकी चरीको मीठो मिलन भए पनि आफू एक्ली प्रेमिका भएकीले त्यो प्रेमलाई हेर्नै नसकेको प्रसंग आएको छ। शरद ऋतुको विदाइपछि हेमन्त ऋतु आफ्नै प्रकारको रसरङ्ग लिएर आएको थियो।

तर आफू एक्ली भएकीले ती पापी प्रेमीलाई मनले सम्झेर तड्पिँदै गयो हेमन्त ऋतु पनि। ‘रुई दुई कि फुई यति तीन थोक चाहिन्छ जाडामहाँ, दुःखी छु रुई फुई छन् पनि ता दुई नहुँदामहाँ’ भन्दै दुई पे्रमीको महत्वलाई उजागर गरिएको छ। ती मेरा प्रेमीले शास्त्रका बात जानेर पनि म यस्ती पाकेको फलजस्ती, तारुण्यताले भरिएकी युवतीलाई विरहमा छोडेर एक्लै परदेशतिर लाग्नु भनेर कुन धर्मशास्त्रले बताएको रहेछ भन्ने कुरा पनि प्रस्टसँग सोधेस् भनी चरालाई भनिएको छ।

जब वसन्त ऋतुको आगमन भयो, हरियाली छायो। उता वृक्षको छायामा मयूरहरू भएर नाच्न थाले र रातिका चन्द्रमा चकोर बनेर यो दृश्य हेर्न थाले। तर आफ्नो भने प्रेमको धोको नै पूरा हुन पाएन भन्ने विरह वेदना प्रकट हुन पुगेको छ। काव्यको तेह्रौं अनुच्छेदतिर आइपुग्दा अब मैले उनको दर्शनको आशा नराखे भयो भनेर आशा मारेको सन्दर्भ आएको छ। तर पनि अब कति पनि ढिला नगरी भुर्र उडेर तिनका समक्ष पुगी आफ्ना कुरा ती निष्ठुरीलाई सुनाइदे भन्ने आग्रह गरिएको छ। चराले गएर सबै कुरा सुनाएपछि प्रेमी छिटोभन्दा छिटो भेट गर्न आयो। दुवैको मिलन हुँदाको क्षण साँच्चै लोभ लाग्दो नै छ।

यसरी जब तहाँ त्यो पन्छीले बात सुन्यो
ढिलो नगरी उडिगै सोही जग्गा पुगिगो
पतिकन अहवाल् तेस सुन्दरीको सुनायो
पति पनि घर आए, हर्ष भारी तहाँ भो।

यसरी एउटा प्रेमीले आफ्नी पे्रमिकालाई पे्रमको नाममा तड्पाएर अन्त्यमा दुवैको मीठो मिलन गराई संस्कृत नाटकको संयोगान्त हुनै पर्ने एउटा नियमलाई मोतीराम भट्टले पनि यथावत्रूपमा धान्न खोजेका छन्।