ओल्ड ट्राफोर्डमा युभेन्ट्सको जित


लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोको क्रसमा पाउलो डिबालाले गरेको गोल निर्णायक सावित हुँदा यूईएफा च्याम्पियन्स लिगअन्तर्गत खेलमा युभेन्ट्सले जित हात पारेको छ।

युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको पूर्वटोली इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडविरुद्ध उसकै मैदानमा ओल्ड ट्राफोर्डमा १–० को जित निकालेको हो। डिबालाले खेलको १७औं मिनेटमा गोल गरेका थिए। जारी च्याम्पियन्स लिगमा उनको यो चौथो गोल थियो। उनी अगाडि रहेका लियोनल मेसी र एडिन डेज्कोले ५÷५ गोल गरेका छन्।

उक्त खेलको प्रमुख आकर्षण भने रोनाल्डो नै बनेका थिए। उनी आफ्नो पूर्व क्लब युनाइटेडका खेलाडीविरुद्ध खेल्दा शान्त देखिएका थिए। उनी फाउलको सिकार हुँदा पनि सौहार्द रूपमा प्रस्तुत भएका थिए। रोनाल्डोले सन् २००९ मा ओल्ड ट्राफोर्ड छाडेका थिए। त्यसपछि उनी स्पेनिस क्लब रियल मेड्रिडमा आबद्ध भएका थिए। यो सिजनदेखि मात्र रोनाल्डो युभेन्ट्समा आबद्ध भएका हुन्।

समूह एच कै अर्को खेलमा योंग ब्वाइज र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। समूह एच मा युभेन्ट्स ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा छ। युभेन्टसभन्दा म्यानचेस्टर युनाइटेड ५ अंकले पछि छ। यस्तै भ्यालेन्सियाको २ तथा योंग ब्वाइजको १ अंक रहेको छ।

रियल मेड्रिड विजयी

स्पेनिस फुटबल क्लब रियल मेड्रिडले पनि जित हात पारेको छ। जितसँगै रियलले स्पेनिस ला लिगामा लगातार हारको यात्रालाई टुंग्याएको छ र साथै मेनेजर युलेन लोपेटेगुइमाथि दबाब पनि कम गरेको छ। च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन रियलले समूह चरणको तेस्रो खेलमा चेक टोली भिक्टोरिया प्लेजनलाई २–१ ले पराजित गरेको थियो। रियलले पछिल्ला पँँच खेलमध्ये ४ खेलमा हार बेहोरेपछि जितको स्वाद चाखेको थियो।

टोलीको जितमा करिम बेन्जेमा र मार्सेलोले एक–एक गोल गरेका थिए। भिक्टोरियाका लागि प्याट्रिक रोसोभस्काईले एक गोल फर्काएका थिए। घरेलु मैदान सान्टियागो बेर्नबाउमा भएको सो खेलमा जित हात पारेपछि रियल ३ खेलबाट ६ अंक जोडेर समूह जी को शीर्षस्थानमा उक्लिएको छ। पराजित भिक्टोरिया भने १ अंकसहित समूहको पुछारमा छ।

त्यस्तै यसै समूहअन्तर्गतको खेलमा इटालियन क्लब एएस रोमाले रसियन क्लब सिएसकेए मस्कोलाई ३–० गोलअन्तरले पराजित गरेको छ। रोमाको सहज जितमा एडिन डेज्कोले दुई तथा सेन्जिक अन्डरले एक गोल गरेका थिए। जितपछि रोमा ६ अंक जोडेर समूको दोस्रो स्थानमा उक्लँदा ४ अंक जोडेको मस्को भने तेस्रो स्थानमा झरेको छ।
सिटी विजयी

यस्तै समूह एफ मा लियोन र होफेनहेमले ३–३ गोलको बराबरी खेल्दा शाख्तर डोनेस्कलाई म्यानचेस्टर सिटीले ३–० को फराकिलो गोलअन्तरले हरायो। टोलीको जितमा डेविड सिल्भा, आइमेरिक लापेटो र बर्नान्डो सिल्भाले एक–एक गोल गरेका थिए। ३ खेलपछि सिटीको ६ अंक र लियोनको ५ अंक रहेको छ। होफेनहेम र शाख्तर समान २ अंकसहित समूहको तेस्रो र चौथो स्थानमा छन्।
यसैगरी समूह ‘ई”’ को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रीसको एथेन्सलाई २–० ले तथा डच टोली आयाक्सले पनि पोर्चुगलको बेनेफिकालाई १–० ले हराउँदै तीन अंक बटुल्यो। यो समूहमा आयाक्स र बायर्नको समान ७–७ अंक छ भने बेनेफिकाको ३ तथा एथेन्स अझै अंकविहीन अवस्थामा रहेको छ।