सिंगो गाउँ व्यावसायिक कृषितर्फ आकर्षित

0
Shares

नवराज पहाडी,
‘… … बजारको दर भाउ मागेको छु,
ला’को खेती कुहाउन नपरोस् सबैसँग वर मागेको छु।’

यो गीतको पंक्ति सुनाउने पेशेवर गीतकार वा गायक नभई किसानी पेशामा जुटेका गाउँका हुन्। उनीहरूले आफ्नो गाउँमा आफ्नो पसिनाको प्रतिफलको निरीक्षणमा आएका नगरपालिकाका मेयर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित पत्रकारको टोलीलाई सुनाएर व्यावसायिक खेती गर्दा बजारको खाँचो नहोस् भन्दै सम्बद्ध व्यक्तिलाई सचेत गराएको बताए।

उनीहरू लमजुङमा सञ्चालन गरिएको एक कृषक पाठशालाका सहभागी हुन्। गाउँमा कृषक पाठशाला सञ्चालन भएपछि त्यो सिंगो गाउँ व्यावसायिक कृषितर्फ आकर्षित भएको छ। बेसीशहर नगरपालिका–६ स्थित भलाम सेरा गाउँमा सञ्चालित कृषक पाठशालाले त्यस्तो उपलब्धि दिएको हो।

‘भलाम सेरा गाउँमा बेसीशहर नगरपालिकाको कृषि शाखाबाट १६ हप्ते कृषक पाठशाला सञ्चालन गरिएको हो। त्यो गाउँ व्यावसायिक कृषिका लागि सुहाउँदो रहेको छ। त्यो गाउँमा हाम्रो आँखा पहिलेदेखि नै परेको हो। विगतका वर्षमा के–के मिलिरहेको थिएन, यो वर्ष नगरपालिकाले वडामार्फत २ लाख रूपियाँ सहयोग गर्यो। हामीले कृषि शाखाको कार्यक्रममार्फत १ लाख रूपियाँको सहयोगमा १६ हप्ते कृषक पाठशाला सञ्चालन गरेका छौं’ –नगरपालिकाको कृषि शाखाका प्राविधिक नवराज बरालले बताए। उनका अनुसार पाठशालामा २० देखि २५ जना किसान हुनुपर्छ भन्ने मान्यता छ तर यो पाठशालामा २६ जनाले भाग लिएका छन्। ‘यहाँका किसानको व्यावसायिक कृषिका विषयमा जान्ने चाहना तथा लगाव देख्दा अत्यन्त प्रभावित भएका छौं’ –बराल भन्छन्।

१६ हप्ते कृषक पाठशालामा एउटा तरकारी बालीको नर्सरीदेखि बाली भित्याउनेसम्मका सबै गतिविधि सिकाइन्छ। त्यसरी प्रविधि सिकाउने मात्र नभई एक रोपनी जग्गामा आधामा उन्नत जातको तरकारी बाली र आधामा परम्परागत तरिकाको उही बाली लगाइन्छ। उही समय, उन्नत प्रविधि, श्रम, मलजल आदि गर्दा उन्नत तरिका र स्थानीय तरिकाको खेती गर्दा उत्पादनमा हुने फरक अनुमान कृषकले आफैं प्रत्यक्ष देखेर अनुभव गर्न सक्ने हुँदा यो प्रविधि प्रभावकारी भएको बराल बताउँछन्।

‘गाउँमा किसान र गन्यमान्यको भेलाबाट के खेती गर्ने र कसको खेतबारीमा गर्ने भन्ने निर्णय किसान आफैंले गर्नुहुन्छ। त्यसपछि कृषक पाठशालाको कक्षा शुरू हुन्छ। पहिलो हप्तामा नर्सरी र खेती लगाउने जग्गाको तयारी बारेमा सिकाइन्छ। चौथो हप्तामा नर्सरीमा तयार भएका बिरुवा रोपिन्छ’ –बरालले बताए। उनका अनुसार सोही हप्ताबाट सहभागी किसानलाई चार उपसमूहमा विभाजन गरी बालीको बोट र पातको मोटाइ रङसमेतका गतिविधि टिपोट गर्न लगाइन्छ। उपसमूहमा नेता छनोट गर्ने र हप्तापिच्छे प्रतिवेदन तयार गर्न लगाई सबैलाई पालोपालो सुनाउन लगाइन्छ। भलाम सेराबासीले कृषक पाठशालामार्फत काउलीको खेती गरेका छन्।
कृषक पाठशालाको मुख्य उद्देश्य चारवटा छन्ः पहिलो बालीको नियमित अवलोकन गर्न लगाउनु, दोस्रो बालीमा लाग्ने शत्रु र मित्रु जीवनको पहिचान गर्ने र शत्रुजीवबाट बालीलाई बचाउने उपाय सिकाउने, तेस्रो कृषकलाई दक्ष बनाउने र चौथोमा स्वस्थ बालीको उत्पादन गर्नु हो। ‘यस कार्यमा नाप्रास वीरजंग गुरुङले सहयोग गरेका छन्। यो कार्यमा सघाउन ११औं हप्तासम्म कृषि प्रसार अधिकृत र प्रास राजेश्वर सिलवाल पनि सँगै हुनुहुन्थ्यो। अहिले दुवै सरुवा हुनुभयो’ –बरालले जानकारी दिए।

वातावरणीय सन्तुलन र अर्गानिक खेती कृषक पाठशालाको एउटा उद्देश्य हो। पाठशालाको अर्को उद्देश्यमा किसानको सशक्तीकरणको पाटो पनि छ। सशक्तीकरणको कार्यले किसानमा नेतृत्व क्षमताको समेत अभिवृद्धि हुने हुन्छ। पाठशाला शुरू भएको पहिलो दिनमा राम्रोसँग आफ्नो परिचय दिन नसक्ने, दकस मान्ने र लजाउनेहरू पाठशालाको कक्षा अन्तिम हुँदा नहुँदै बोल्नका लागि तछाडमछाड गर्ने गरेको अनुभव बराल सुनाउँछन्। ‘१६ हप्ते कृषक पाठशाला यतिबेला १३औं हप्तामा चलिरहेको छ। १६ हप्ता पूरा भएपछि कृषक दिवसका साथ समापन हुन्छ। साथमा सचेतना जागृत गर्ने पाटो पनि छ। किसानले गीत तथा संवादमार्फत आफ्ना गुनासा राख्न सक्छन्, तपाईंहरूले सुनेको गीत त्यसमध्ये एक हो’ –बरालले सुनाए।

भलाम सेराबासीले कृषक पाठशालासँगै व्यावसायिक खेती शुरू गरेका छन्। त्यसका लागि २४ वटा टनेल निर्माण गरीसकेका छन् र ती टनेलमा काउली, बन्दा, साग, मुला, गोलभेडा आदि खेती गर्ने तयारीका साथ बिरुवा रोप्न थालेका छन्। टनेल निर्माणका लागि बेसीशहर नगरपालिकाले वडामार्फत ५० प्रतिशत अनुदान दिएको छ।

७ वर्ष जापान बसेर फर्कनुभएका प्रकाश थापाको नेतृत्वमा ‘भलाम खोला सेराफाँट कृषक समूह’ गठन गरी गाउँलेले व्यावसायिक कृषि खेती गर्ने भएको थापाले बताए। कतारमा ८ वर्ष बिताएका धिरबहादुर थापा, साउदीमा ७ वर्ष बिताएका समशेरबहादुर थापा र मलेसिया÷अफगानिस्तानमा ५ वर्ष बिताएका विश्वराज थापा पनि सँगै यो अभियानमा लागेका छन्। साथमा बेसीशहरमा २ वर्षदेखि तरकारी फलफूलको पसल सञ्चालन गरी आएका इन्द्रबहादुर अधिकारी, अर्का व्यवसायी कल्पना बोहरासमेत आफ्नो टोलीमा रहेको थापाले जानकारी दिए। व्यावसायिक खेतीका लागि १० जनाले ५÷५ लाख रूपियाँ लगानी गरेका छन्।

‘तत्कालका लागि १५ रोपनीमा तरकारी खेती काउली, बन्दा, साग, मुला, गोलभेडा र धनिया लगाईसकेका छौं। तरकारी खेती १ सय रोपनीमा लगाउने र १ सयवटा उन्नत गाईपालन गर्ने योजना छ। हामीले १ करोड लगानी गर्ने योजना बनाएका छौं’ –समूहका सचिव धिरबहादुर थापाले बताए।

कुल ३१ घरपरिवार रहेको भलाम सेरा गाउँमा १६ घर सुयल, ८ घर परियार, ३ घर थापा, १÷१ घर खत्री र भुजेलको रहेको छ। ‘हामी यो अभियानमा सबै गाउँलेलाई समेट्ने प्रयासमा छौं। नगद लगानी गर्न नसक्नेले श्रम दिन्छन्’ –समूहका अध्यक्ष प्रकाश थापाले बताए।

‘तत्कालका लागि यहाँबाट उत्पादन हुने तरकारीका लागि बजारको कुनै समस्या पर्र्दैन, बेसीशहरमै खपत हुन्छ’ –उक्त समूहको सदस्यसमेत रही सो कार्यमा ५ लाख लगानी गरेका बेसीशहर तरकारी तथा फलफूल पसलका प्रोपाइटर इन्द्रबहादुर अधिकारीले भने। उनका अनुसार भोलिका दिनमा बढी उत्पादन गर्न सकेको खण्डमा पोखरा, नारायणगढ र आवश्यक पर्दा काठमाडौंमा समेत लग्न सकिन्छ।

मध्यपहाडी लोकमार्ग लमजुङ हुँदै पोखरा जोडिने भएको छ र त्यो सडक निर्माण भएपछि २ घन्टाको बस यात्रामा पोखरा पुग्न सकिन्छ। यो स्थितिलाई समेत ध्यान दिएको समूहका कोषाध्यक्ष महादेव थापालेबताए। उनले भने– ‘हाम्रो आफ्नै गाडी र पसलमार्फत बिक्रीको प्रबन्धसमेत गरेका छौं, त्यसैले पनि हामी सफल हुन्छौं भन्नेमा ढुक्क छौं। सरकारले के–कति सहयोग गर्छ हामी प्रतिक्षामा छौं। हामी गाउँलेले १ करोड लगानी गर्र्दै छौं।’ उनका अनुसार भलाम सेरा माछापालनको पनि राम्रो सम्भावना भएको स्थल हो। विस्तारै त्यो पनि सोचिरहेको र ८– १० वटा पोखरी सजिलै बनाउन सकिने उहाँले बताए।

कृषक पाठशाला तथा भलाम सेराबासीले लगाउन लागेको तरकारी खेतीको अवलोकनपछि बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले किसानको उत्साहलाई उर्जा थप्ने काम गरे। उनले परम्परागत र निर्वाहमुखी खेतीको सट्टामा उन्नत, व्यावसायिक र रोजगारमूलक कृषि गर्ने किसानका लागि नगरपालिकाले सहयोग गर्ने बताए। उनले व्यावसायिक खेती गर्ने किसानलाई टनेलमा ३० देखि ५० प्रतिशत सहुलियत तथा गाई वा भैंसीपालन गर्ने किसान २० वटा पाल्नेलाई ५ वटा थपिदिने सहितका अन्य आवश्यक काममा नगरपालिकाले सहयोग गर्ने बताए।

सो अवसरमा बेसीशहर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले भने– ‘यहाँहरू राम्रो र दिगो उत्पादन कार्यमा लाग्नुहोस्, बजेट र बजारको अभाव हुन नदिनेतर्फ नगरपालिकाले कदम चाल्नेछ।’ सोही वडाका वडाध्यक्ष भोजबहानदुर रिमालले वडाले डेढ लाख सहयोग गरेको र यो उपलब्धिमूलक भएको खण्डमा आउँदो वर्ष निरन्तरता दिने तर झारटार्ने काम भएमा पुनः बजेट नदिने बताए।

बेसीशहर–चामे लोकमार्गको पहुँचमा रहेको भलाम सेरा गाउँसम्म कच्ची सडकको ट्रयाक खोलिसकिएको छ। बेसीशहरदेखि भलाम सेरा गाउँको सडकको दूरी ७ किमी रहेको छ।