राष्ट्रपति सीद्वारा विश्वकै सबैभन्दा लामो समुद्री पुल उद्घाटन


बेइजिङ, (एजेन्सी)
चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार औपचारिक रूपमा समुद्रमाथि बनाइएको विश्वकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन्। हङकङलाई मकाउ र मुख्य भूमिको चिनियाँ शहर झुहाइ जोड्ने ५५ किलोमिटर लामो सो पुलको निर्माण कार्य ९ वर्ष अघि शुरू गरिएको थियो।

यसको निमार्णमा करिब २० अर्ब अमेरिकी डलर खर्च भएको थियो। सुरक्षा र जोखिमयुक्त कामका कारण यसको निर्माण कार्य पूर्वनिर्धारित समयभन्दा निकै ढिलो सम्पन्न भएको हो। सरकारी अधिकारीहरूले यसको निर्माणका क्रममा कम्तिमा अठार जना कामदारको दुर्घटनामा ज्यान गएको तथा अन्य सयौं घाइते भएको बताएका छन्।

झुहाइमा आयोजित यसको विशेष उद्घाटन कार्यक्रममा राष्ट्रपति सीलगायत हङकङ र मकाउका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। यो पुल बुधबारदेखि सर्वसाधारणको आवतजावतका लागि खुल्ला गरिने भएको छ। यसले चीनका तीनवटा प्रमुख सामुद्रिक शहर हङकङ, मकाउ र झुहाइलाई जोडेको छ।

भूकम्प र समुद्री तुफानले पनि केही गर्न नसकिने गरी यस पुलमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ। यति परिमाणको स्टिलबाट फ्रान्सको राजधानी पेरिसस्थित विश्व प्रसिद्ध आइफल टावरजस्तो ६० वटा बनाउन सकिन्छ। यसको कुल लम्बाइमध्ये करिब ३० किलोमिटरले पर्ल रिभर डेल्टाको समुद्री भाग पार गरेको छ।

पानीजहाज आवतजावत गराउनका लागि दुईवटा कृत्रिम टापूबीच समुद्रमुनि ६ दशमलव ७ किमि लामो सुरुङ बनाइएको छ। साथै झुहाइ र हङकङलाई मुख्य पुलमा जोड्ने अन्य सहायक मार्ग तथा भूमि सुरुङहरू पनि बनाइएका छन्। हङकङ, मकाउ र दक्षिणी चीनका अन्य ९ वटा शहरस्थित एक बृहत् खाडी क्षेत्र तयार पार्ने योजनाको एक अंशका रूपमा यो पुल निर्माण भएको हो।

यस क्षेत्रमा अहिले ६ करोड ८० लाख मानिसको बसोबास रहेको छ। विगतमा हङकङ र झुहाइबीचको यात्रा ४ घन्टा लामो हुने गरेकोमा यस पुल बनेलगत्तै सो समय ३० मिनेटमा झरेको छ। यो पुल प्रयोग गर्न चाहनेले कोटा प्रणालीअनुसार विशेष अनुमतिपत्र लिनुपर्दछ भने सवारी साधनले टोल तिर्नुपर्दछ। सरकारी यातायात साधनको व्यवस्था नगरिएकाले यहाँ निजी बसहरू सञ्चालन हुने भएका छन्। साथै यो पुलसँग कुनै रेलवे सेवा पनि जोडिएको छैन।

स्थानीय प्रशासनले शुरूमा दिनहुँ ९ हजार २ सयवटा सवारी साधनले यसको प्रयोग गर्न सक्ने अनुमान गरेको छ। तर सो क्षेत्रमा यातायातको नयाँ सञ्जाल जोडिएपछि भने यस्ता सवारी साधनको संख्यामा कटौती गरिने बताइएको छ। पुल निर्माणको क्रममै धेरैको ज्यान गइसकेकाले यसलाई स्थानीय सञ्चार माध्यमले ‘मृत्युको पुल’ को संज्ञा पनि दिएको छ। वातावरण संरक्षणवादी समूहले भने यस पुल परियोजनाका कारण सो क्षेत्रका अत्यन्तै दुर्लभ चिनियाँ सेता डल्फिनलगायत अन्य जलीय जीव र पंछी खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन्। विगत १० वर्षभित्र हङकङको जलीय क्षेत्रको डल्फिनको संख्या १ सय ४८ बाट ४७ मा झरिसकेको प्रकृतिका लागि विश्वव्यापी कोष ( डब्ल्यूडब्ल्यूएफ ) को हङकङस्थित शाखाले जनाएको छ।