रंगशाला निर्माणका लागि रकम बटुल्दै


धनवीर दाहाल, रुकुम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा रंगशाला निर्माण हुने भएको छ। स्थानीय प्रगतिशील युवा क्लबले रंगशाला निर्माणको सहयोगार्थ खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको आयोजना गरेको छ। रंगशाला निर्माणका लागि सरकारले २१ करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले जानकारी गराएका थिए। युवाहरुले थालेको यस अभियान उदाहरणीय भएको भन्दै मन्त्री खत्रीले यस अभियानका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

यसैबीच कार्यक्रमको दोस्रो दिन सोमबार भलिबल तथा सिंगारु नाच प्रतियोगिता शुरू भएको छ। भलिबलतर्फ प्रथम हुनेलाई ६० हजार, द्वितीयलाई ४५ हजार र तृतीयलाई ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ। क्लबले सोही कार्यक्रमको अवसर पारी रंगशाला निर्माणका लागि सहयोग गर्नेहरूलाई सम्मानसमेत गरेको छ। त्यस्तै जिल्लाबाट नेतृत्व गरेका पूर्व राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिएको छ।

रंगशाला निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग पनि जुटिरहेको छ। अमेरिकामा रहेका गो फन्ड मी कार्यक्रम सञ्ंचालन गरेर आठबिसकोट नगरपालिका १० का प्रेमराज केसीले संकलन गर्नुभएको ५ लाख ९१ हजार, अमेरिकामा रहेका बाँफीकोट–६ मग्माका गोर्खबहादुर कुसारीले ५ लाख २५ हजार, रुकुमपूर्व नाथिगाडका धनबहादुर केसी डिबीले २ लाख १ हजार, आठबिसकोट नगरपालिका–१० का महेश केसीले १ लाख १५ हजार, आठबिसकोट नगरपालिका–१० का गणेशमान केसीले ८० हजार, बाँफिकोट गाउँपालिका–७ का हेमराज खनालले ८० हजार र बाँफिकोट गाउँपालिका वडा नं ८ का रामप्रसाद केसीले ७५ हजार रकम उपलब्ध गराएको क्लबका अध्यक्ष देवराज खनालले जानकारी दिएका थिए।