विनोद सिंह विष्ट–बैतडी ।
दशैका लागि भारतवाट फर्केका नेपालीहरु तथा जिल्लाबाहिरवाट जिल्ला भित्रने यात्रुहरुले सवारी धनीहरुले बढी भाडा लिने गरेको गुनासो गरेका छन् ।
झुलाघाट भएर घर फर्किने नागरिकहरुले जीप व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको गुनासो गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैया र साथमा ल्याएको समानको सय रुपैया लिने गरेको घर फर्कनेहरुले गुनासो गरेका छन् ।
यस्तै दशै मनाउन तराईका जिल्लाबाट घर फर्केका यात्रुहरुले गाडीमा महंगो भाडा तिर्नु परेको गुनासो गरेका छन् । अत्तरिया देखि बैतडीको भाडा ६ सय रुपया भएकोमा १ हजार ५० रुपया भाडा तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका ४ बुदखोलाका बिरेन्द्र तिरुवाले बताए । राती अत्तरिया नै बास बसेपनि बढि खर्च हुने भएकाले महंगो भाडा तिरेर घर पुगेको उनले दुखेसो पोखे ।
भाडा महंगो तिर्नुपर्दा पैसाा कम सिमित रुपया बोकेका यात्रुहरुलाई समस्या भएको बैतडी दोगडाकेदारका केशब भट्टले बताए । आफु बाजुरा बाट बैतडी पुग्न तिन दिन लागेको र अरु बेलाको भन्दा दोब्बर भाडा तिरेर घर पुगेको भट्टको भनाई छ । पढाई तथा विभिन्न रोजगारीका लागी घर बाहिर रहेका जिल्लाबासी घर फर्किरहेका छन् ।
दशैंको बेला यात्रुहरु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । तर आफूहरुसंग भाडा बढी लिएको गुनासो अहिले सम्म नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । त्यस्तो गुनासो आएमा र बढी भाडा लिएको पाइएमा कारवाही गर्ने प्रवक्ता जोशीले बताए।











प्रतिक्रिया