विनोद सिंह विष्ट, बैतडी ।
हिन्दूहरुको ठूलो चाड दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपिठहरुमा भक्तजनको घुईचो लागेको छ । देहिमाण्डौंमा रहेको प्रसिद्घ निङ्गलाशैंनी भगवती मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिर , पाटनमा रहेको उदयदेव मन्दिर , त्रिपुरामा रहेको त्रिपुरा सुन्दरी मन्दिर , पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार लगायतका दर्जनौं मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुईचो लागेको हो ।
यी मन्दिरहरुमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन । दशैंको बेलामा लाग्ने मेलामा भक्तजनहरुको घुइचो लागेकोे दशरथचन्द नगरपालिका वडा नम्वर २ देहिमाण्डौंका अध्यक्ष रन बहादुर बोहराले जानकारी दिए । बैतडीसहित सुदूरपश्चिम लगायत भारतवाट समेत दर्शानार्थी आएका छन उनले भने भन्नुभयो“महाअष्टमीको दिन रांगा र बोका सहित पुजाआजा लाग्ने गर्दछ”
यस्तै निंगलाशैनी मेला व्यवस्थापन समितिले मेलालाई सभ्य र भव्य रुपले सफल पार्न सबैमा आग्रह गरिएको छ । मेलालाई व्यवस्थित गर्नका लागी गाडी , जीप कार तथा मोटरसाईकल लागी निशुल्क पार्किङको व्यवस्था गरिएको छ । मेलास्थलमा दर्शनार्थीको चाप बढी हुने भएकोले निंगलाशैनी भगवती मन्दिरको पुर्वमा दशरथचन्द राजमार्ग छेउमा निंगलाशैनी क्याम्पसका लागी काटिएको ठाँउ घुसुल्लाको तल्लोमोडमा पार्किङको व्यवस्था गरेको छ ।
यस्तै पुर्चाैडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन रांगाको बली दिने गरिन्छ । पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन रांगाको बली दिईन्छ । त्रिपुरा सुनदरी मन्दिरमा घटस्थापनादेखि दशैंसम्म बलि दिने गरिएको छ ।
नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए ।
जिल्लाका अन्य शक्तिपीठहरुका साथै अन्य मन्दिरहरुमा पञ्चमीदेखि बिशेष पूजा भईरहेको स्थानीयबासिन्दाहरुले बताएका छन् । परापूर्वकालमा नेपालमै घर भएका तर अहिले उतै स्थायी बसोबास गरिरहेकाहरु दर्शन गर्न आउने गरेका छन । मेलाहरुलाई व्यवस्थित बनाउन सबै ठाउँमा मदिरा निषेधित क्षेत्र,धम्रपान निषेधित क्षेत्र र खुलादिशापिसाबमुक्त क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिहरुले जनाएका छन् ।
यसका साथै मेलामा मिठाई,जेरी लगायत अन्य खाद्य पदार्थको सेवन गर्दा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । धेरै रंग प्रयोग भएको चीजहरु नखान उनीहरुले सचेत गराएका हुन् ।
मेलामा कुनै अपाराधिक क्रियाकलाप नहोउन भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलहरुमा प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रबक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।
बजारमा किनमेल गर्नेको भिड
दशैतिहार नजिक आएसंगै बजारमा किनमेल गर्नेको भिड लागेको छ । जिल्लाका मुख्य बजार गोठालापानी, देहिमाण्डौ, पाटन, पुर्चौडी हाट,मेलौली,खोडपे लगायतका बजारमा किनमेल गर्नेको घुँइचो लागेको छ । अहिले सबैभन्दा बढी लुगा ,कपडा, र खाद्यन्नको सामान बिक्री हुने गरेको ब्यापारीले बताएका छन् । दशै तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लागेको मुस्याचौरका व्यपारी भिमराज भट्टले बताए । दशैमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन् । पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भएपनि दशै सुरु भएदेखि बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको भट्टको भनाई छ ।











प्रतिक्रिया