दशैंको रौनकताः गाउँमा चहलपहल, सदरमुकाम सुनसान

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
दशैं नजिक आएसंगै बैतडीका गाउँघरमा चहलपहल बढेको छ । दशैंका लागि तराईबाट पहाड आउने संख्या पनि अत्यधिक बढेको छ ।
अहिले तराईबाट पहाडका गाडीमा भिड लागेको महाकाली यातायात सतबाँझका काउण्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले जानकारी दिनुभयो ।
मूलघर पहाड भई तराई बसाईसरेकाहरु पनि दशैंको समयमा पूजापाठका लागि पहाड आउने गरेका छन् । तराईबाट पहाड आउने यात्रुको संख्या बढेसंगै सवारीसाधनको चाप पनि बढेको हो

अहिले गाउँगाउँमा तराईबाट पहाड आउनेको संख्या निकै बढेको दशरथचन्द नगरपालिका त्रिपुराका गणेशसिंह थापाले जानकारी दिनुभयो । अन्य समयमा सुनसान हुने गाउँहरु हिजोआज गुल्जार भएका छन् । गाउँमा दशैंको रौनक छाएको सुर्नया ६ का शिक्षक लवदेव अवस्थीले बताउनुभयो । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो ।

यस्तै पढाईका लागि जिल्ला बाहिर रहेकाहरु पनि घर फर्किन थालेका छन् । रोजगारीका लागि भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम पनि बढेको छ । सीमा नाका झुलाघाटबाट स्वदेश फर्कनेको संख्यामा वृद्धि भएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । दशैंका लागि घर फर्कनेहरु लर्को लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

सदरमुकाम सुनसान
गाउँमा चहलपल बढेका बेला सदरमुकाम क्षेत्र भने सुनसान बनेका छन् । दशैंको समयमा काम बिशेषले बाहिर रहेकाहरु पनि घर फर्किसकेका छन् भने कर्मचारीहरु पनि गाउँ फर्केका छन् । दशैंको चहलपहल बढेसंगै सदरमुकाम भने सुनसान बनेको छ । अधिकांश कर्मचारीहरु दशैका लागि घरतिर हिँडेपछि सदरमुकाम सुनसान बनेको हो । दशैंको बेला सदरमुकाम चहलपहल कम हुने गरेको सदरमुकामका एक ब्यापारी कर्ण प्रसाद बोगटीले बताउनुभयो ।सदरमुकाममा जिल्ला बाहिर तथा अन्य कर्मचारीहरुको बसोबास हुने भएकाले दशैंका लागि उनीहरु घर हिडेपछि सदरमुकाम सुनसान बनेको उहाँले बताउनुभयो ।

रौनकता छायो
नेपालीहरुको महान चाड दशैतिहार नजिकिएसंगै बैतडीका गाउघरमा रौनकता छाएको छ । पढाई तथा रोजगारीको लागी घरबाहिर रहेकाहरुपनि गाउमा आएपछी रौनकता छाएको गुरुखोलाका पुस्कर भट्टले बताउनुभयो । घरबाहिर रहेकाहरु गाउँघरमा फर्किएसंगै स्थानीह बजारहरुमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको देहिमाण्डौंका एक व्यापारी शंकर बोहराले बताउनुभयो ।

यस्तै घटस्थापनादेखि बैतडीका शक्तीपिठहरुमा पनि भक्तजनहरुको भिड लागेको छ । बसाईसरेर गएकाहरुपनि दशैंको बेला पाठपुजाका लागी आउने गरेका छन् । यसका साथै राजमार्गमा चल्ने सवारी साधनमा पनि यात्रुहरुको भिडभाड बढी भएको महाकाली यातायातका सिल्लेगडा बुकिंग काउन्टरका ईञ्चार्ज दशरथ चन्दले जानकारी दिनुभयो ।

किनमेल गर्नेको भिड
दशैतिहार नजिक आएसंगै यहाँक स्थानीय बजारमा किनमेल गर्नेको भिड लागेको छ । जिल्लाका देहिमाण्डौ, पाटन, पुर्चौडी हाट,मेलौली,खोडपे लगायतका बजारमा किनमेल गर्नेको घुँइचो लागेको छ । अहिले सबैभन्दा बढी लुगा ,कपडा, र खाद्यन्नको सामान बिक्री हुने गरेको ब्यापारीले बताएका छन् । दशै तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लागेको मुस्याचौरका व्यपारी भिमराज भट्टले बताए । दशैमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन् । पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भएपनि दशै सुरु भएदेखि बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको भट्टको भनाई छ ।

दशैं तिहार जस्ता चाडपर्व नजिक आएपछि जिल्ला प्रहरी कार्यालय बैतडीले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाएको जनाएको छ । प्रहरी बिषेश सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था कडा बनाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।

शक्तिपिठहरुमा भक्तजनको घुईचो
हिन्दूहरुको ठूलो चाड दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपिठहरुमा भक्तजनको घुईचो लागेको छ । देहिमाण्डौंमा रहेको प्रसिद्घ निङ्गलाशैंनी भगवती मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिर , पाटनमा रहेको उदयदेव मन्दिर , त्रिपुरामा रहेको त्रिपुरा सुन्दरी मन्दिर , पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार लगायतका दर्जनौं मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुईचो लागेको हो ।

यी मन्दिरहरुमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन । दशैंको बेलामा लाग्ने मेलामा भक्तजनहरुको घुइचो लागेकोे दशरथचन्द नगरपालिका वडा नम्वर २ देहिमाण्डौंका अध्यक्ष रन बहादुर बोहराले जानकारी दिए । बैतडीसहित सुदूरपश्चिम लगायत भारतवाट समेत दर्शानार्थी आएका छन उनले भने भन्नुभयो“महाअष्टमीको दिन रांगा र बोका सहित पुजाआजा लाग्ने गर्दछ”

यस्तै निंगलाशैनी मेला व्यवस्थापन समितिले मेलालाई सभ्य र भव्य रुपले सफल पार्न सबैमा आग्रह गरिएको छ । मेलालाई व्यवस्थित गर्नका लागी गाडी , जीप कार तथा मोटरसाईकल लागी निशुल्क पार्किङको व्यवस्था गरिएको छ । मेलास्थलमा दर्शनार्थीको चाप बढी हुने भएकोले निंगलाशैनी भगवती मन्दिरको पुर्वमा दशरथचन्द राजमार्ग छेउमा निंगलाशैनी क्याम्पसका लागी काटिएको ठाँउ घुसुल्लाको तल्लोमोडमा पार्किङको व्यवस्था गरेको छ ।

यस्तै पुर्चाैडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन रांगाको बली दिने गरिन्छ । पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन रांगाको बली दिईन्छ । त्रिपुरा सुनदरी मन्दिरमा घटस्थापनादेखि दशैंसम्म बलि दिने गरिएको छ ।

नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए ।
जिल्लाका अन्य शक्तिपीठहरुका साथै अन्य मन्दिरहरुमा पञ्चमीदेखि बिशेष पूजा भईरहेको स्थानीयबासिन्दाहरुले बताएका छन् । परापूर्वकालमा नेपालमै घर भएका तर अहिले उतै स्थायी बसोबास गरिरहेकाहरु दर्शन गर्न आउने गरेका छन । मेलाहरुलाई व्यवस्थित बनाउन सबै ठाउँमा मदिरा निषेधित क्षेत्र,धम्रपान निषेधित क्षेत्र र खुलादिशापिसाबमुक्त क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिहरुले जनाएका छन् ।

यसका साथै मेलामा मिठाई,जेरी लगायत अन्य खाद्य पदार्थको सेवन गर्दा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । धेरै रंग प्रयोग भएको चीजहरु नखान उनीहरुले सचेत गराएका हुन् ।

मेलामा कुनै अपाराधिक क्रियाकलाप नहोउन भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।