धनवीर दाहाल, रुकुम ।
पहिरोले बिद्युत उत्पादनगृह पुरेपछि रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं ७ र ८ तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १ छिङ मा दशैंको बेला अन्धकार भएको छ । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह माथिबाट खसेको पहिरोले पुरेपछि ति गाँउहरुमा दशैंको बेला अन्धकार भएको हो । मंगलबार बिहान माथिबाट आएको पहिरोले आयोजनामा ठूलो क्षति पुर्याएको वडा नं ८ का अध्यक्ष खर्कसिङ थापाले जानकारी दिनुभयो ।
४ वर्षअघि निर्माण गरिएको उक्त आयोजनाबाट ९ सय बढी उपभोक्ता लाभान्वित छन् । ९० किलो वाट उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट रुकुमपूर्व सिस्ने गाउँपालिकाका ७ र ८ वडा तथा रुकुम पश्चिम मुसीकोट नगरपालिकाको १ नम्वर वडाको छिङ वस्तीमा बत्ति बलेको थियो ।
पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले बताउनुभयो । यसै गरी पहिरोमा परी स्थानीय २० वर्षीया जेनुका गौतम घाइते भएकी छन् । घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पुर्याइएको छ । पहिरो झरे लगत्तै वडाअध्यक्ष थापा सहित स्थानीय विद्युत आयोजनाको मुख्य मेशिन जोगाउने प्रयासमा लागेका छन ।
पहिरोमा पुरिएको मेशिन जोगाउने प्रयास भइरहेको थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष थापा सहित स्थानीयहरु पहिरो पन्छाउन लागीरहेका छन् । धेरै क्षति भएकोले दशैंको बेला बिजुली बल्न सक्ने संभाजना न्युन रहेको बताइएको छ । तर पहिरो हटाउने प्रयास जारी रहेको वडा अध्यक्ष थापाले बताउनुभयो ।











प्रतिक्रिया