देउसी भैलोमा साउण्ड सिष्टममा रोक

0
Shares

बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकाले दीपावली (तिहार) को अवसरमा खेलिने देउसी भैलोलाई ब्यवस्थित गर्न विद्युतिय सामाग्रीको प्रयोगमा प्रतिवन्ध लगाएको छ । ठुला–ठुला साउण्ड सिस्टम जडित विद्युतिय सामाग्रीको प्रयोग गरेर देउसीभैलो खेल्दा समाजमा ध्वनीप्रदुषणले कोलाहल निम्त्याउने भएकाले विद्युतिय उपकरणको माध्यमबाट साउण्ड निकालेर खेलिने देउसीभैलोलाई देवदह नगरपालिकाले प्रतिवन्ध लगाएको हो ।

देवदह नगरपालिका नगर कार्यपालिकाको बैठकले तिहार पर्वमा खेलिने देउसी भैलोलाई ब्यवस्थित गर्न विद्युत साउण्ड सिस्टमलाई प्रतिवन्ध लगाउने निर्णय गरेको नगरप्रमुख हिराबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले कार्यपालिकामै यो विषय गम्भिरताका साथमा उठेकाले बैठकले विद्युतिय उपकरण लगाएतका सामाग्रीको प्रयोग गरेर ठुलोठुलो साउण्ड निकालेर उश्रृंखल तरिकाले दैउसी भैलो खेल्न नदिने निर्णय गरेको बताउनुभयो ।

देउसी भैलो खेल्दा पर्वको महत्वका आधारमा बाध्यबादक, देउसीभैलो समूहसँगै गित गाएर मौलिक परम्परा अनुसार खेल्न आग्रह समेत गरिएको खत्रीले बताउनुभयो । कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गर्न प्रहरी प्रशासनसंग समन्वय गरी नगर प्रहरी र नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई परिचालित गरिने छ ।

कार्यपालिकाको निर्णय उलंघन गरि देउसी भैलो खेलेको पाईएमा देउसी भैलोमा प्रयोग भएका सबै सामाग्री नगरपालिकाले नियन्त्रणमा लिने निर्णय बैठकले गरेको छ । नजिकिएको तिहारको देउसी भैलोलाई मर्यादित र ब्यवस्थित तरिकाले मौलिक संस्कृतिका आधारमा खेल्न नगरपालिकाले सबैलाई आग्रह समेत गरेको छ ।