दोलखा प्रहरीको ‘फाईट ब्याक’

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
बालबालिका माथि बढ्दै गएको यौन हिंसा तथा दुव्र्यवहारको अन्त्यको लागि दोलखा प्रहरीले ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान सुरु गरेको छ ।

विशेष गरी विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई यौन हिंसाका स्वरुप, आत्म रक्षाको लागि अपनाउनु पर्ने सर्तकता लगाएतको विषयमा जानकारी गराउन र उनीहरुलाई शारिरीक एवं मानसिक रुपमा बलियो बनाउन दोलखा प्रहरीले ‘फाईट ब्याक, प्रहरी साथमा छ’ नामको विशेष अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

सिविन नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरु गरेको ‘फाईट ब्याक, प्रहरी साथमा छ’ विशेष अभियानको क्रममा यौन दुव्र्यवहार, यौन हिंसा, यौन हिंसामा संलग्न पक्ष, यौन हिंसाका अभियुक्तलाई हुने कानुनी सजाय, कानुनी उपचार खोज्ने तरीका, आत्म रक्षाको लागि अपनाउनु पर्ने उपाएहरु लगाएतको विषयमा जानकारी गराईने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

बाल बालिकामा हुने अधिकांश यौन हिंसा उनीहरुलाई यसको बारेमा जानकारी नभएर र आत्मरक्षाको लागि शारिरीक एवं मानसिक रुपमा कमजोर भएर हुने गरेको प्रहरी नायव उपरीक्षक पाठक बताउछन् । अभियानको क्रममा पाँच देखि १२ बर्ष उमेर समूहका बालबालिकालाई कस्तो छुवाई यौन हिंसा हुने र कस्तो नहुने भनेर छुवाईको तरीकाको बारेमा जानकारी गराईने तथा १३ देखि १८ बर्ष उमेर समूहका बालबालिकालाई यौन हिंसा गर्न खोजे प्रतिकार गर्ने तरीकाबारे जानकारी गराईने पाठकले बताए ।

यो अभियान दोलखाको बिभिन्न १६ वटा विद्यालयमा संचालन गरिएको र त्यसमा तीन हजार दुई सय ८४ बालबालिका संलग्न रहेको प्रहरीले जनाएको छ । अभियानको क्रममा हरेक विद्यालयमा बालबालिकाले त्यस्तो कुनै समस्या भोग्नु परेको छ की छैन, छ भने कस्तो खाले समस्या छ भनेर बुझ्न पेन ड्रप बक्स (पीडा राख्ने) राखिएको र त्यसमा आठ सय ७५ वटा जवाफ प्राप्त भएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

अभियानको क्रममा विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई आत्म रक्षाको लागि शारिरीक रुपमा प्रतिकार गर्ने तरीका, यौन हिंसा बारे जानकारी, कानुनी पक्ष र प्रहरीले गर्ने सहयोगको बारेमा जानकारी दिने तथा प्रतिकारका तरीकाहरु प्रयोगात्मक रुपमा सिकाईने प्रहरी नायव उपरीक्षक पाठकले बताए ।