जनप्रतिनिधिको पारिश्रमिकबाट वृद्धवद्धालाई वनभोज

0
Shares

धनवीर दाहाल, रुकुम
जनप्रतिनिधिले आफ्नो पारिश्रमिक रकमबाट दशैंतिहारको उपलक्ष्यमा जेष्ठ नागरिकका लागि सम्मान स्वरूप वनभोज तथा दशैंमिलन कार्यक्रम गरेका छन्। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का अध्यक्ष चन्द्रबहादुर केसी, वडा सदस्यहरू उर्दबहादुर पुरी, सामाना खत्री, देवबहादुर बोहरा र सुनीता विकले आ–आफ्नो पारिश्रमिकबाट जेष्ठ नागरिकका लागि दशैंमिलन तथा वजभोज कार्यक्रम गर्नुभएको हो।

वडा नं ३ मा रहेका सबै जेष्ठ नागरिकलाई सँगै राखेर उहाँहरूसँगै दशैंको शुभकामना आदानप्रदान गरिएको हो। बाँफिकोट गाउँपालिका–३ का ४२ जना जेष्ठ नागरिकलाई सम्मानस्वरूप दशैंमिलन तथा वनभोज आयोजना गरिएको वडा नं ३ को वडा कार्यालयले जनाएको छ। दशैंतिहारलगायतका चाडपर्वको शुभकामना आदानप्रदानका साथै बूढापाकाहरूको अनुभव साटासाट गर्न सो वडाका सबै जेष्ठ नागरिकलाई वडा कार्यालयले आमन्त्रण गरेको हो।

चाडपर्वको शुभकामनासँगै जेष्ठ नागरिकको सम्मानस्वरूप दशैंमिलन तथा वनभोज कार्यक्रम गरिएको वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो। बाँफिकोट गाउँपालिका–३ पैंयाबाराका ७३ वर्षका शशिराम खत्रीले आफूहरूलाई वडाले सम्मान गरेको बताउनुभयो। यस्तै सोही ठाउँका महेश्वर खत्रीले साँच्चिकै जनप्रतिनिधि भएको महसुस भएको बताउनुभयो। यस्तै सोही वडाकी मनसरी कामीले आफूहरूलाई वडाले सम्मान गरेकोप्रति आभार प्रकट गर्नुभयो। आफूलाई पहिलोपटक गाउँमा सरकारको महसुस भएको स्थानीय नौमति बोहराको भनाइ थियो।

जेष्ठ नागरिकको जमघट गराई आफ्ना अनुभव साटासाट गराएको र उहाँहरूलाई दशैंमिलन तथा भोजसमेत व्यवस्था गरेकोमा वडा नं ३ को कार्यालयलाई अध्यक्ष केसीले धन्यवादसमेत दिनुभएको थियो। कार्यक्रममा वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर केसीले दशैं र तिहारको बीचमा आफ्नो पारिश्रमिकबाट आएको १ लाख बराबरको रकमबाट अशक्त, अपांग र जटिल प्रकारका बिरामीलाई सहयोग गर्ने घोषणा गर्नुभयो।