महेश न्यौपाने, रोल्पा
विद्यावारिधिका लागि शोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा। अगस्ता मोनलारले विगत लामो समयदेखि रोल्पाका गरिब जेहेन्दार विद्यार्थीलाई बर्सेनी छात्रवृत्ति वितरण गर्दै आएकी छिन्।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडौंमार्फत २०६५ सालदेखि हरेक वर्ष नियमितरूपमा उपलब्ध गराएको छात्रवृत्तिले रोल्पाका हजारौं विद्यार्थी लाभान्वित भएको बताइएको छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको तर्फबाट प्रदेश–५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी आफैं उपस्थित भएर यस वर्षको गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ननभएको हो।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका १ सय ५ जना विद्यार्थीलाई उक्त छात्रवृत्ति रकम वितरण गरिएको थियो। प्राथमिक तहमा अध्ययनरत विद्यार्थीका लागि २ हजार ४ सय, निमावि तहका लागि ३ हजार ६ सय, मावि तहका लागि ४ हजार ८ सय, दश जोड दुईका लागि ६ हजार र प्राविधिक शिक्षातर्फ २० हजार प्रतिविद्यार्थीका दरले छात्रवृत्ति वितरण गरेको विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाठामगरले जानकारी दिए।
‘छात्रृत्ति छनोटका लागि गठित समितिको सिफारिसमा छात्रवृत्ति वितरण गर्दै आएका छौं’, अध्यक्ष वाँठामगरले भने– ‘छात्रवृत्ति स्वरूप हरेक वर्ष ५ लाख बढी वितरण गर्दै आएका छौं। २०६५ सालयता झन्डै १ हजार विद्यार्थीका लागि ४५ लाख बढी छात्रवृत्ति वितरण भइसकेको छ।’
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै प्रदेश–५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले अझै पनि गरिब विपन्न परिवारलाई शिक्षा आर्जनमा आर्थिक समस्या हुँदै आएकाले छात्रवृत्तिले केही सहयोग पुग्ने आशा व्यक्त गरे। ‘अमेरिकी नागरिक डा। अगस्ता मोनलारले रोल्पाली विद्यार्थीप्रति देखाएको सहयोग र सद्भावले जिल्लाको शैक्षिक विकासमा इँटा थप्न सहयोग गरेको छ।’ –मन्त्री चौधरीले भने। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले रोल्पालाई छनोट गरी छात्रवृत्ति उपलब्ध गराउनु सकारात्मक रहेको बताउँदै छात्रवृत्ति संख्या र बजेटसमेत थपका लागि आफूले पहल गर्ने मन्त्री चौधरीको भनाइ छ।











प्रतिक्रिया