प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको गुर्जा हिमाल आरोहणका क्रममा हिमआँधी र हुरीमा परेर ज्यान गुमाएका पर्यटकहरुको शव संकलन गरेर काठमाडौं ल्याइएको छ। धौलागिरी गाउँपालिका–१ गुजामा पर्ने ७ हजार १ सय ९३ मिटर अग्लो गुजा हिमालको आधार शिविरमा हिमआँधी र हावाहुरीमा परेर मृत्यु भएकामध्ये ८ जनाको शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।
५ जना कोरियाली र ३ जना नेपालीको शव काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाइएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। हिमआँधीमा परेर मृत्यु भएका म्याग्दीको गुजाका ३४ वर्षीय नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको उहाँले बताउनुभयो। दुर्घटनामा परेर मृत्यु भएकामध्ये २÷३ जनाबाहेक अधिकांशको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सिम्रिक एयरको हेलिकोप्टरको प्रयोगमा आइतबार बिहान खोजी गरी मृतक सबै ९ जना पर्यटकको शव संकलन गरिएको थियो। दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा शनिबार बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार हुन सकेन। खोंच र अप्ठ्यारो भीरमा रहेका कारण उपकरणबिना मृतकको शव संकलन गर्न समस्या भएको थियो। बेपत्ता भएकाहरुको खोजीका लागि गुजा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेर शव फेलापारेका थिए। गुर्जा गाउँदेखि घटनास्थल आधार शिविर ५ घन्टाको दूरीमा पर्छ। शनिबार बिहान उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर गए पनि अवतरण हुन नसकेपछि फर्किएको थियो।
कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि पर्यटकको टोली बेसक्याम्पसतर्फ प्रस्थान गरेको थियो। हिमाल आसपासका क्षेत्रमा रहेका वनजंगलका रुखसमेत हावाहुरीका कारण भाँच्चिएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। यसै साता मात्रै गुर्जा हिमाललगायत अन्य हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए। एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो।











प्रतिक्रिया